१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

युरोकप २०२४ः बेल्जियमको पहिलो जित, पोर्चुगल अन्तिम १६ मा प्रवेश

युरोकप २०२४ अन्तर्गतको खेलमा पोर्चुगलले टर्कीमाथि सहज जित हासिल गरेको छ।

समूह ‘एफ’ अन्तर्गत शनिवार सम्पन्न खेलमा पोर्चुगलले टर्कीमाथि ३–० गोलको सहज जित हासिल गरेको हो। जितसँगै पोर्चगुल समूह विजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ।

पोर्चुगलको जितमा बर्नाल्डो सिल्भा र ब्रुनो फर्नान्डेसले समान एक गोल गरे भने अर्को गोल उपहार स्वरुप पाएको थियो। दुई खेलमा दुई जित हासिल गरेको पोर्चुगल ६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ।

पहिलो खेलमा चेक रिपब्लिकविरुद्ध २–१ गोलको जित हासिल गरेको पोर्चुगल एक खेलअगाबै अन्तिम १६ मा प्रवेश गरेको हो।

यस्तै राति नै भएको अर्को खेलमा चेक रिपब्लिक र जर्जियाले अङ्क बाँडेका छन्। गयराति भएको समूह ‘एफ’ को खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन्।

दुई खेलबाट पहिलो अङ्क जोडेको चेक रिपब्लिक तेस्रो तथा जर्जिया चौथो स्थानमा छ। पहिलो हाफको अतिरिक्त समयको चौथो मिनेटमा जर्जेस मिकाउटाडजेले पेनाल्टीमा गोल गर्दै जर्जियालाई सुरुआती अग्रता दिलाएका थिए। तर, ५९औँ मिनेटमा प्याट्रिक शिकले गोल गर्दै खेल १–१ गोलको बराबरी अवस्थामा ल्याए। त्यसपछि बाँकी समय थप गोल नहुँदा खेल १–१ को बराबरीमा सकियो।

यस्तै राति नै सम्पन्न अर्को खेलमा बेल्जियमले पहिलो जित हात पारेको छ। रोमानियालाई २–० अन्तरले पराजित गर्दै बेल्जियमले पहिलो जित हात पारेको हो।

जितसँगै समूह ‘ई’ मा रहेको बेल्जियमले तीन अङ्क जोडेको छ। पहिलो खेलमा बेल्जियम स्लोभाकियासँग १–० गोलअन्तरले पराजित भएको थियो भने रोमानियाले युक्रेनलाई ३–० गोलले पराजित गरेको थियो।

प्रकाशित: ९ असार २०८१ ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App