१० असार २०८१ सोमबार
image/svg+xml
खेल

दर्शक नेपाली क्रिकेटको १२औं खेलाडी हुन् : मोन्टी देसाई

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाली क्रिकेटको सफलतामा समर्थकहरूको साथ महत्त्वपूर्ण रहेको बताएका छन् ।  

वेस्ट इन्डिज र अमेरिकामा संयुक्तरूपमा आयोजना भइरहेको आईसिसी ट्वान्टी–२० विश्वकपमा बंगलादेशसँगको आफ्नो अन्तिम खेल अगाडि भएको पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टीले नेपाली क्रिकेटको सफलतामा समर्थकको साथ महŒवपूर्ण रहेको प्रतिक्रिया दिएका हुन् । विश्वकपमा सान्त्वना जित निकाल्ने लक्ष्यसहित नेपाल समूह ‘डी’ को अन्तिम खेल किङ्सटाउनमा बंगलादेशसँग खेल्दैछ । शुक्रबार दक्षिण अफ्रिकासँग जितको संघारमा पुगेर पनि १ रनको अप्रत्यासित हार भोग्न बाध्य भएपछि नेपालको सुपर आठमा पुग्ने सम्भावना सकिएको छ । त्यसैले बंगलादेशविरुद्ध जित निकाल्दै विश्वकपमा सुखद् अन्त्य गर्ने लक्ष्यमा नेपाल हुनेछ ।  

नेपाल विश्वकप क्रिकेटमा दोस्रो पटक बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । सन् २०१४ को आफ्नो पहिलो विश्वकपमा पनि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरेको थियो । चट्टगाउँमा भएको त्यो प्रतिस्पर्धामा नेपाल आठ विकेटले पराजित भएको थियो । यस पटक त्यो हारको बदला लिने अवसर पनि नेपालले पाएको छ । सुपर आठमा पुग्न बंगलादेशलाई नेपाललाई हराउनुको विकल्प छैन । त्यसैले बंगलादेश पूर्ण दबाबमा हुनेछ । त्यसको फाइदा लिँदै नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ ।  

शनिबार पत्रकार सम्मेलनमा मोन्टीले बंगलादेश बलियो टोली रहे पनि ट्वान्टी–२० मा जुनसुकै टोलीले सप्राइज दिने सक्ने बताए । ‘ट्वान्टी–२० सबै टोलीका बारेमा राम्रोसँग जानकारी हुने र कुनै पनि टोलीविरुद्ध योजना बनाउन सहज हुनेछ । हामी बंगलादेशलाई सुपर आठमा पुग्न नदिन रोक्ने भन्दा पनि आफ्नो क्षमता प्रदर्शन गर्न उत्रनेछौं । यो कसैको लक्ष्यबाट रोक्नेभन्दा पनि गर्विलो क्षण प्राप्त गर्न हुनेछ,’ प्रशिक्षक मोन्टीले भने । बलियो टोली दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट बलिङ गर्दै नेपालले सस्तैमा रोकेको थियो । यही लय जारी राखेमा नेपालले बंगलादेशविरुद्ध सफलता पाउन सक्छ ।  

यद्यपि, मानसिक रूपमा दबाब हटाउने सँगै ब्याटिङमा पनि सुधार गर्नुपर्नेछ । प्रशिक्षक मोन्टीले फ्लड लाइटमा ब्याटिङ गर्न केही गाह्रो पनि भएको उल्लेख गर्दै बंगलादेशसँग केही सुधार हुने विश्वास व्यक्त गरेका छन् । टेस्ट राष्ट्र बंगलादेशविरुद्ध आफूलाई प्रमाणित गर्ने अर्को अवसर प्राप्त भएको र यस पटक राम्रो प्रदर्शन गर्ने मोन्टीको विश्वास छ । ‘अर्को एउटा अवसर हामीसँग छ । यस अवसरमा वान बल ब्याटर्सको सिद्धान्तअनुरूप उच्च आत्मबलका साथ हामी खेल्नेछौं,’ मोन्टीले भने, ‘त्यो हारको ४८ घन्टा पछाडि नै हामी बंगलादेशसँग खेल्दैछौं । ती सबै पीडाका भावना भुल्दै हामी बलियो भएर मैदानमा जानेछौं ।’

यहाँसम्म पुग्न नेपालको सफलताका कथाको पछाडि समर्थक रहेको भन्दै प्रशंसा गरेका छन् । ‘मेरा खुला आखाले नेपाली समर्थकको प्रेम देखेको छु । टियु क्रिकेटमा जस्तै विश्वको जुनसुकै स्थानमा गए पनि नेपाली समर्थक पुग्छन्,’ प्रशिक्षक मोन्टीले भने, ‘उनीहरू आफ्ना जीवनयापन गर्न काम पनि गर्छन् । आफ्ना काम छोडेर पनि यी सानो सपनालाई साकार बनाउन मैदानसम्म पुग्छन् । छनोट चरणमा पनि रुखमाथि चढेर होस् या चर्को घाम र पानीमा उस्तै साथ यो टोलीले समर्थकबाट पाएको छ । यही १२औं खेलाडीको साथले नै यहाँसम्म पुगेका हौं ।’

समर्थकको राम्रो साथ हुँदाहुँदै पनि एक पटक फेरि निरास हुनु परेको प्रति प्रशिक्षक मोन्टी दुःखी देखिए । ‘फेरि पनि हामी निरास हुनु परेको छ । यस पटक पनि हामीले सफलता पाउन सकेनौं । यो पीडाले हाम्रा समर्थकलाई धेरै गाह्रो भएको छ,’ मोन्टीले भने, ‘दक्षिण अफ्रिकासँग टोलीसँग कहिल्यै नखेलेको एसोसिएट टोली हो, नेपाल । यो बलियो टोलीविरुद्ध लाइन पार गर्न सकेनौं । मानसिक रूपमा उनीहरूले लिएको परीक्षामा सफल भएनौं ।’

प्रशिक्षक मोन्टीले नेपाली टोलीमा धेरै क्षमता रहेको र एक दिन सफल पनि हुने विश्वास व्यक्त गरेका छन् । ‘यो टोलीमा धेरै क्षमता छ र एक दिन सफल हुनेछ । टेस्ट टोलीसँग हामीले कमै मात्र खेल खेलेका छौं । ब्याटरमा पनि त्यो अनुभव छैन । तर, पनि हामीले यसलाई परिवर्तन गर्दै राम्रो नतिजा दिन सक्नुपर्छ,’उनले भने ।  

प्रकाशित: २ असार २०८१ १२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App