११ असार २०८१ मंगलबार
image/svg+xml
खेल

प्रदेशस्तरीय पुरुष क्रिकेटः आफ्नालाई समेट्न सिनियरलाई बाइपास

पोखरामा शुक्रबारदेखि प्रदेशस्तरीय पुरुष क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ। गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगितामा गण्डकी प्रदेशका आठवटा जिल्लाका टिमले प्रतिस्पर्धा गर्दैछन्। 

प्रतियोगितामा कास्की जिल्लाले पनि सहभागिता जनाउँदैछ। तर प्रतियोगितामा सहभागिताबारे कास्की जिल्ला क्रिकेट संघ (क्यान) बेखबर छ। किनकी जिल्ला खेलकुद विकास समितिले क्यान कास्कीलाई जानकारी नै नदिई टिम पठाएको छ। प्रतियोगिता आयोजक गण्डकी खेलकुद परिषदले क्यान कास्कीसँगको समन्वयमा खेलाडी छनौट गरेर टिम पठाउन भनेपनि जिल्ला खेलकुद समितिले एकल रुपमा मनोमानी ढंगले खेलाडी छनौट गरेर टिम पठाएको पाइएको हो। 

त्यतिमात्र होईन खेलाडी छनौट गर्दा सिनियर खेलाडीलाई बाईपास गरेर जुनियर खेलाडीलाई छनौट गरेको पनि पाइएको छ। जसले गर्दा सिनियर खेलाडीहरु निराश बनेका छन्। त्यस्तै प्रतियोगिताका लागि कास्कीले म्यानेजर ऋषिकेश पौडेललाई प्रशिक्षकका रुपमा राखेको छ। जबकी पौडेल प्रशिक्षक नै होईनन्।  

साथै जिल्ला खेलकुद समितिले खेलाडी छनौट गर्ने सेलेक्सन कमिटीमा समेत उनै पौडेललाई राखेर खेलाडी छनौट गरेको छ। यसो गर्नुको कारण समितिका पदाधिकारीहरु पौडेल निकट रहेको र आफू अनुकुल खेलाडी छनौट गर्ने योजना अनुरुप राखिएको श्रोतको दाबी छ। श्रोतले भन्यो, ‘पौडेलमार्फत आफू निकट खेलाडीलाई छनौट गर्ने र बजेट पनि मिलिभगतमा दमपच गर्ने भन्ने हो।’ 

प्रतियोगितामा कास्कीको टिम सहभागिताबारे क्यान कास्कीलाई जानकारी नभएको क्यान कास्कीका सचिव बिरेन्द्र पुनले बताए। ‘खेलाडी छनौट गरेर टिम पठाउन भनेर पत्र आएको थियो। तर हामीले खेलाडी छनौट नगर्दै जिल्ला खेलकुद विकास समितिले खेलाडी छनौट गरेर टिम पठाएको जानकारीमा आयो। यो हामीसँग समन्वय नगरी गरिएको हो, यसमा हाम्रो आपत्ति छ।’ उनले क्यान कास्कीसँग समन्वय नगरी खेलाडी छनौट गर्ने र टिम पठाउने अधिकार जिल्ला खेलकुद विकास समितिसँग नहुने दाबी गरे। 

गण्डकी खेलकुद परिषदका टेक्निकल कमिटी प्रमुख देवेन्सन प्रजुले प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिले सहभागिता जनाएपनि टेक्निकल सहयोग क्यानको लिनुपर्ने बताए। तर समन्वय भएनभएकोबारे आफूलाई जानकारी नभएको उनको भनाई छ।

गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल भने प्रणालीगत समस्याका कारण अहिलेको समस्या आएको बताउँछन्। ‘परिषद्ले नभई गण्डकी क्रिकेट संघले आयोजना गर्नुपर्ने प्रतियोगिता हो यो,’ उनले भने,‘तर तर परिषद्ले आयोजना गर्यो। जसका कारण उसले आफू मातहतका जिल्ला खेलकुद विकास समितिलाई टिम पठाउन भन्यो। सोहि अनुसार जिल्लालेपनि टिम पठाउँदा समस्या उत्पन्न भयो।’ यद्वपी क्यानसँग समन्वय गरेर टिम पठाउनुपर्ने उनको भनाई छ।

प्रकाशित: ३० जेष्ठ २०८१ १७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App