१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

लङजम्पमा अनुज र सरितालाई स्वर्ण

मधेस प्रदेशका अनुजकुमार साह र कर्णाली प्रदेशकी सरिता शाहीले यु–१५ विद्यालय खेलकुदको एथलेटिक्समा बुधबार स्वर्ण जितेका छन् । लङजम्पको छात्रमा अनुज र छात्रामा सरिताले स्वर्ण जितेका हुन् ।

पोखरा रंगशालामा अनुजले ६.११ मिटर जम्प गरे । सुदूरपश्चिम प्रदेशका वरुण दत्त रानाले रजत तथा लुम्बिनी प्रदेशका श्लोक हरिजनले कांस्य जिते ।  

सरिताले ४.६१ मिटर जम्प गरिन् । कोशी प्रदेशकी निकिता एक्तेल लिम्बू दोश्रो तथा गण्डकी प्रदेशकी सुजना कुमाल तेश्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेश खेलकुद परिषद्, गण्डकीद्वारा संयुक्त आयोजित प्रतियोगिताको छात्र ४ सय मिटर दौडमा सुदूरपश्चिमका वरुण दत्त राना पहिलो भए । उनले निर्धारित दूरी ५८.६२ सेकेन्डमा पूरा गरे । मधेशका दिपेश साह दोश्रो तथा लुम्बिनीका सुशान्त थारु तेश्रो भए ।  

सो स्पर्धाको छात्रामा कर्णालीकी कृष्णा रानाले स्वर्ण चुमिन् । कृष्णाले निर्धारित दूरी तय गर्न १ मिनेट ०४.२९ सेकेन्ड समय खर्चिन् । बागमती प्रदेशकी भगवती खड्काले रजत तथा लुम्बिनीकी कमला वलीले कांस्य हात पारे ।

छात्र १ सय मिटर दौडमा लुम्बिनीका शुभन बमरेल पहिलो भए । आफ्ना प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा शुभनले ११.४६ सेकेन्ड समय निकाले । मधेशका अर्जुन शाह दोश्रो तथा कोशीका राजन वान्तवा राई तेश्रो स्थानमा रहे ।  

उक्त स्पर्धाको छात्रामा गण्डकीकी एन्जल अधिकारी शीर्ष स्थानमा रहिन् । एन्जल निर्धारित दूरी १३.५६ सेकेन्डमा पूरा गरिन् । लुम्बिनीकी आरुषी भट्टराईले रजत तथा बागमतीकी मुस्कान चौधरीले कांस्य जिते ।

एथलेटिक्सको पहिलो दिन ६ स्वर्णको टुंगो लाग्दा ५ प्रदेशले स्वर्ण जितेका छन् । कर्णालीले २ तथा मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमले समान १–१ स्वर्ण जितेका छन् । 

जम्मा १४ स्पर्धा समावेश एथलेटिक्सको बाँकी ८ स्पर्धाको फाइनल प्रतियोगिताको अन्तिम दिन बिहीबार हुनेछ । सातै प्रदेशबाट ७६ खेलाडी सहभागी छन् ।

प्रकाशित: ३० जेष्ठ २०८१ १५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App