१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

‘एसोसिएटको अप्रत्याशित जितले नेपाललाई प्रेरणा’

एसोसिएट राष्ट्रले अप्रत्याशित नतिजा आफ्नो पक्षमा पार्दा अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट रोमाञ्चक बनिरहेको छ।

तर, श्रीलंकालगायत टेस्ट राष्ट्रले अमेरिकाको पिच अस्वाभाविक रहेको भन्दै आलोचना गरिरहँदा एसोसिएट टोलीको सफलताले भने जारी विश्वकपमा रोमाञ्चकता भरिएको छ।

अप्रत्याशित नतिजाले ती आलोचना ओझेलमा परेका छन्। अस्वाभाविक पिचबारे एसोसिएट टोलीले भने खासै आलोचनात्मक प्रतिक्रिया दिएका छैनन्। यसको अर्थ उनीहरू एसोसिएट राष्ट्रका सफलतामा रमाएका छन्। नेपालका लागि पनि ती सफलता प्रेरणा बन्नेमा दुई मत छैन। जुन प्रेरणाले बलिया टोलीविरुद्ध नेपाललाई आत्मबल प्रदान गर्नेछ।

नेपालका कप्तान रोहितकुमार पौडेलले श्रीलंकासँगको खेलअगाडि एसोसिएट र कमजोर मानिएका राष्ट्रका सफलताले प्रेरणा मिलेको उल्लेख गरेका थिए।

‘एसोसिएट राष्ट्रले केही अप्रत्याशित नतिजा निकालेका छन्। यस किसिमका नतिजाले हामीलाई पनि प्रेरणा मिल्छ। यी सफलतामा हामी पनि जोडिन चाहन्छौं,’ उनले भनेका छन्।

रोहितको भनाइ जस्तै अमेरिका, युगान्डा र बंगलादेशले बलिया टोलीविरुद्ध जित निकाले। आयोजक अमेरिकाले त भारत र पाकिस्तानजस्ता बलिया टोली रहेको समूहबाट लगातार दुई जित रच्यो। यस क्रममा अमेरिकाले पाकिस्तानजस्तो बलियो टोलीलाई हराउँदै सुपर आठको सम्भावना बनाएको छ।

नेदरल्यान्ड्सले दक्षिणका अफ्रिकाका शीर्ष क्रमका ब्याटरलाई सस्तैमा पभेलियन फर्काउँदै ठूलो चुनौती दियो। तथापि, डेविड मिलर इनिङ जोगाउँदै अप्रत्याशित हारको संकट टारे।

पपुवा न्युगिनीले पनि दुई पटकको च्याम्पियन वेस्ट इन्डिजलाई कडा चुनौती दियो। यी प्रदर्शनले नेपालजस्ता एसोसिएट राष्ट्रलाई पक्कै पनि आत्मबल भर्नेछ। कप्तान रोहितमा पनि सोही आत्मबल देखिएको छ। जुन, श्रीलंकासँगको खेलअगाडि जितको आधार पनि बन्न सक्छ।

प्रिमियर बलर सन्दीप लामिछानेको टोलीमा आगमन र एसोसिएट राष्ट्रको सनसनीपूर्ण जित श्रीलंकाविरुद्ध फ्लोरिडाको लडरहिलमा नेपालको जित आधार बन्न सक्छ।

स्थानीय समयअनुसार साँझ ७ः३० बजेदेखि खेल सुरु हुँदै छ। विभिन्न देशमा रहेका नेपालीहरू उक्त खेल हेर्न आएको सामाजिक सञ्जालमा भिडियो प्रशस्त देखिएका छन्।

अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली पनि फ्लोरिडामा आइपुगेका छन्। यद्यपि, मध्य दिउँसोसम्म यहाँको मौसम अनुकूल हुने देखिएको छैन। साँझ वर्षा र हावाहुरीको पुवानुमान छ।

प्रकाशित: २९ जेष्ठ २०८१ २३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App