१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

अंक प्राप्तिको दबाबमा नेपाल

किरणकुमार लिम्बू। फाइल तस्बिर: एन्फा

ऐतिहासिक एक सय ‘क्याप’ पूरा गर्ने संघारमा रहेका नेपाली राष्ट्रिय टोलीका कप्तान किरणकुमार लिम्बू सर्वाधिक खुसी देखिनुपर्ने हो। तर, विश्वकप २०२६ र एसियन कप २०२७ छनोटअन्तर्गत दोस्रो चरणको खेल खेल्न साउदी अरबस्थित दमाममा रहेका उनको अनुहारमा खुसीभन्दा बढी दबाब देखिन्छ।

उनी यस दबाबलाई शब्दमा उतार्दै भन्छन्, ‘हामी विश्वकप छनोटबाट बाहिरिसकेका छौं। त्यसमा पनि अंकविहीन छौं। त्यसैले जसरी भए पनि अंक लिएर यो प्रतियोगिता सक्काउनुपर्छ भन्नेमा कोचिङ स्टाफ र खेलाडीहरू छन्।’

नेपालले आज प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा यमनविरुद्ध खेल्दै छ। ‘होम एन्ड अवे’ मा सञ्चालन भइरहेको प्रतियोगितामा नेपालले यमनसँग पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेलेको थियो। तर, उक्त खेलमा नेपाल २–० गोलअन्तरले पराजित भयो।

युएई, बहराइन र यमन रहेको समूह ‘एच’ नेपालका लागि तुलानात्मक रूपमा कठिन थियो। वरीयताकै कुरा गर्ने हो भने यी टोलीको आसपास नेपाल देखिन पाएको थिएन। अझ इतिहासको कुरा गर्ने हो भने त युएई एक पटक एसियन कपमा उपविजेता भइसकेको टोली हो। बहराइन पनि नेपालका लागि उत्तिकै बलियो टोली हो।

यो टोलीले सन् १९८८ मै एसियन कप खेलेसकेको इतिहास छ। त्यसैले यो समूहबाट अघिल्लो चरणमा यी दुई टोली नै प्रवेश गर्ने अनुमान गरिएको थियो। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र कप्तान किरणले पनि यो कुरालाई नकार्न सकेका थिएनन्। त्यसैले कहिल्यै यी दुई टोलीलाई जित्ने दाबी उनीहरूले गर्न सकेनन्। बरु यमनसँग भने अंक लिने योजना सुनाइरहे।

योजना सुनाउनु र त्यसलाई मैदान उतार्नु फरक कुरा हो। नेपालले बनाएको योजना प्रतियोगिताको पहिलो खेलमा यमनसँग भिड्दा कहींकतै लागू भएको देखिएन। सुरुआतदेखि नै दबाबमा राखेको यमनले नेपाललाई घरेलु दर्शकसामु स्तब्ध बनायो।

हुन त यो नै यमनिरुद्ध नेपालको पहिलो हार थिएन। यसभन्दा अगाडि भएका तीन भेटमा पनि नेपालले यस्तै हारको सामना गर्नुपरेको थियो। किरण भन्छन्, ‘मलाई मात्रै होइन हाम्रो समर्थकलाई पनि लगातार हारिरहँदा नराम्रो लाग्छ। तर, हामी कुन लेभलमा छौं भनेर हेर्नुपर्छ। हाम्रो समान स्तर भनेको लाओस हो। त्यही टोली नभएको भए हामी दोस्रो चरणमा आइपुग्दैनथ्यौं होला। युएई र अन्य टोली र खेलाडीको प्रोफाइल नेक्स्ट् लेभलको छ। हाम्रोमा को छ? रोहित (चन्द), म र अहिले मनीष भाइ (मनीष डाँगी) त हो।’

यमनसँग नेपालको हारको सुरुआत १० फेबु्रअरी २००० बाट भएको थियो। एसियन कप छनोटअन्तर्गत समूह पाँचको खेल खेल्न यमन पहिलो पटक काठमाडौं उत्रिएको थियो। प्रतियोगिताको स्वरूप ठ्याक्कै यस्तै थियो, ‘होम एन्ड अवे’।

दशरथ रंगशालामै भएको खेलमा नीराजन रायमाझी र नरेश जोशीजस्ता खेलाडीले भरिएको नेपाली टोली घरेलु दर्शकसामु ३–० को गोल बेहोर्दै स्तब्ध बनेको थियो। त्यसयता पनि नेपाल र यमनबीच पटकपटक भेट भइरह्यो। तर, यी भेटमा टोलीले मार्च २७, २०१७ मा हलचोकमा भएको एसियन कप छनोटमा गोलरहित बराबरीमा रोक्नुबाहेक कुनै ठूलो नतिजा हात पार्न सकेन।

अहिलेसम्म चार पटक यी दुई टोली आमुनेसामुन्ने हुँदा यमनले नेपालविरुद्ध नौ गोल गरिसकेको छ। यद्यपि, नेपालले एक गोल मात्रै फर्काउन सकेको छ। मार्च २७, २०१८ मा सुहेम बिन हमाद स्टेडियम, दोहामा भएको एसियन कप छनोटको खेलमा स्ट्राइकर नवयुग श्रेष्ठले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए। तर, उनी चोटका कारण अहिले राष्ट्रिय टोलीबाट बाहिर छन्। उनी मात्रै होइन, त्यस खेल खेलका सुमन लामा, आदित्य चौधरी, विशाल राई, दिनेश राजवंशी, सुजल श्रेष्ठलगायतका खेलाडी विदेशिएका छन्। विमल घर्तीमगर र जर्जप्रिन्स कार्कीले चोटका कारण टोलीमा पुनरागमन गर्न सकेका छैनन्।

अञ्जन विष्ट घाइते हुँदा अग्रपंक्तिको सम्पूर्ण भार जिलेस्पीजंग कार्की, सञ्जीव विष्ट, आयुष घलान, मनीष डाँगीजस्ता युवा खेलाडीमा थुपरिएको छ। अनुभव बटुलिसकेका खेलाडी विदेशिनु र घाइते हुनुले अपेक्षा गरिएअनुसार खेल प्रदर्शन गर्न नसकेको मुख्य प्रशिक्षक एनेस गुनासो गर्छन्। त्यसमाथि युएईजस्तो बलियो टोलीसँग समान खेल प्रदर्शन गर्न आफ्नो टोलीलाई धेरै समय लाग्ने उनको तर्क छ।

‘युएईसँग अन्तर्राष्ट्रिय खेलमा सामना गर्न हामीसँग धेरै अनुभव चाहिन्छ। तर, यमनसँग हामी धेरै राम्रो गर्न सक्छौं भन्ने मलाई लाग्छ। हामीले यमनविरुद्ध राम्रो प्रदर्शन गर्नु नै पर्छ,’ उनले भने।

युएई पाँच खेलबाट १५ र बहराइन १० अंक जोड्दै समूहको शीर्ष दुईमा रहेर विश्वकप छनोटको अर्को चरणमा मात्रै पुगेका छैनन् एसियन कपमा समेत सीधै स्थान बनाइसकेका छन्। समान खेलबाट चार अंक जोडेको यमन तेस्रो र चौथो अर्थात् पुछारमा रहेको नेपालले एसियन कपमा प्रवेश पाउन फेरि खेल्नुपर्नेछ। त्यसैले अब यमनलाई जित्नु र नजित्नुले केही फरक हुने छैन। तर, यसले वरीयतामा भने पक्कै धेरै फरक पार्छ।

नेपाल यो प्रतियोगिताका पाँच खेलमा युएई तथा बहराइनसँग आठ/आठ र यमनसँग दुईगरी १८ गोल खाँदा एक पनि फर्काउन सकेको छैन। अन्तिम खेलमा नेपालले यमनविरुद्ध गोल गरे यो तथ्यलाई पनि फेर्नेछ।  

प्रकाशित: २९ जेष्ठ २०८१ ०६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App