१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

टी २० विश्वकप: आठ संस्करणमा भारतको सुरुवाती प्रदर्शन कस्तो ?

तस्बिर: बीसीसीआई

टी–२० विश्वकप क्रिकेट प्रतियोगिता सुरु भएको १७ वर्ष भएको छ। १७ वर्षको अवधिमा ८ संस्करणका खेलहरू भइसकेका छन्। ९ औं संस्करणका खेल वेस्ट इन्डिज र अमेरिकाको  मैदानमा जारी छ। पहिलो संस्करणको विजेता टोली भारतले आज आयरल्याडसँग प्रतिस्पर्धा गर्दैछ। यी दुई बिचको खेल नेपाली समय अनुसार राती ८ः १५ बजे अमेरिकाको न्यूयोर्कमा हुनेछ।

आठ संस्करणमा भारतको सुरुवाती प्रदर्शन कस्तो ?

महेन्द्र सिंह धोनीको नेतृत्वमा भारतीय टोली - २००७

विश्वकपको पहिलो संस्करण सन् २००७ मा दक्षिण अफ्रिकामा भएको थियो। महेन्द्र सिंह धोनीको नेतृत्वमा तत्कालीन क्रिकेटको नयाँ फर्म्याटमा विश्वकप खेल्न गएको भारतीय टोलीले पहिलो खेलमा स्कटल्याण्डको चुनौती सामना गरेको थियो। तर वर्षाका कारण त्यो खेल हुन सकेन। पहिलो संस्करणमै भारतले चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई फाइनलमा ५ रनले हराउँदै उपाधि जित्यो।

रोहित शर्माको विश्वकपमा डेब्यु - २००९

टी–२० विश्वकपको दोस्रो संस्करण इंग्ल्याण्डमा खेलिएको थियो। भारतीय टोली डिफेन्डिङ च्याम्पियन बन्ने उद्देश्यले सहित मैदानमा उत्रेको पहिलो खेल बङ्गलादेशसँग भएको थियो। नटिङ्घममा भएको उक्त खेलमा भारत २५ रनले विजयी भएको थियो। यो खेलमा वर्तमान भारतीय टोलीका कप्तान रोहित शर्माले विश्वकपमा डेब्यु गरेका थिए। त्यस खेलमा  ओपनिङमा आएका रोहितले २३ बलमा ३६ रन बनाएका थिए।

छिमेकी राष्ट्र अफगानिस्तानसँग प्रतिस्पर्धा, भारत ७ विकेटले विजयी

विश्वकपको तेस्रो संस्करण वेस्ट इन्डिजको भूमिमा हुँदा समूह ‘सी’ मा रहेको भारतको पहिलो खेल छिमेकी राष्ट्र अफगानिस्तानसँग खेलेकाे थियाे। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानी टोलीलाई भारतले २० ओभरमा ११५ रनमा सीमित राख्न सफल भयो। त्यसपछि ३१ बल बाँकी रहँदै ११६ रनको लक्ष्य पूरा गर्दै भारत ७ विकेटले विजयी भयो। तेस्रो संस्करणको खेल हुँदा सम्म भारतका विराट कोहली विश्वकपमा प्रवेश गरेका थिएनन्। र, यो खेलमा रोहित शर्मा पनि सहभागी थिएनन्।

विराट कोहलीकाे डेब्यू , पहिलो खेलमा जित

विराट कोहलीले सन् २०१२ मा श्रीलङ्कामा भएको चौथो संस्करणको टी–२० विश्वकपलाई कहिल्यै बिर्सने छैनन्। जस मार्फत विराट कोहलीले पहिलो पटक टी–२० विश्वकपको पिचमा प्रवेश पाएका थिए। चौथो संस्करणको पहिलो खेलमा पनि भारतले अफगानिस्तानसँग सामना गर्नुपर्‍यो। पहिले ब्याटिङ गरेको भारतले विराट कोहलीको अर्धशतकको मद्दतमा २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनायो। जवाफमा अफगानि टोली १३६ रनमा मात्रै रोकिए। भारतले खेल २३ रनले जित्यो र ३९ बलमा ५० रन बनाएका विराट कोहली प्लेयर अफ द म्याच चुनिए।

पहिलो खेलमै पाकिस्तान प्रतिद्वन्द्वी

टी–२० विश्वकपको पाँचौ संस्करण बङ्गलादेशमा खेलिएको थियो। जहाँ भारतको पहिलो खेल आफ्नो कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँग भएको थियो। भारतले पहिले पाकिस्तानलाई २० ओभरमा १३० रनमा सीमित गरेपछि १३१ रनको लक्ष्य पछ्याउँदै खेल ७ विकेटले जित्यो। यो खेलमा विराट कोहलीले ३२ बलमा ३६ रनको अविजित इनिङ खेले। ओपनिङका क्रममा आएका रोहित शर्माले २१ बलमा २४ रन बनाए।

घरेलु मैदानकै पहिलो खेलमा पराजित

टी–२० विश्वकप छैठौँ संस्करण भारतमा भएको थियो। जसमा भारतको पहिलो खेल न्यूजिल्याण्डसँग थियो। यो खेलमा भारत ४७ रनले हार्न पुग्यो। नागपुरको मैदानमा भएको खेलमा न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै २० ओभरमा १२६ रन बनायो। जवाफमा भारतीय टोलीले ७९ रनभन्दा बढी बनाउन सकेनन्। यस खेलमा रोहित र विराट दुवै असफल भए। खेलमा ओपनिङ गर्दा रोहितले मात्र ५ रन बनाए भने विराट २३ रन बनाएर आउट भए।

पाकिस्तानसँग पराजित

सन् २०२१ को टी–२० विश्वकपको पहिलो खेलमा भारत र पाकिस्तान फेरि आमने-सामने भएका थिए। तर, सन् २०१४ मा देखेको नतिजा आएन। यसपटक पाकिस्तानले भारतलाई हरायो। भारतले २० ओभरमा ७ विकेट गुमाएर १५१ रन बनाएको भए पनि बाबर आजम र मोहम्मद रिजवानको ओपनिङ जोडीबिच १५२ रनको साझेदारी हुँदा पाकिस्तानले खेल १० विकेटले जितेको थियो। विराट कोहलीको कप्तानीमा मात्र नभई टी–२० विश्वकपमा पनि पाकिस्तानसँग भारतको यो पहिलो हार बन्याे। बाबजुद, यस खेलमा विराटले ५७ रनको इनिङ खेले।

पाकिस्तानसँग हारको बदला

सन् २०२२ मा आठौँ संस्करणको टी–२० विश्वकप अस्ट्रेलियाको भूमिमा आयोजना गरिएको थियो। यसपटक पनि भारतीय टोलीको पहिलो भिडन्त चिर प्रतिद्वन्द्वी पाकिस्तानसँग भयो। मेलबर्नमा भएको यो खेलमा विराट कोहलीले पछिल्लो टी–२० विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिए। पहिले ब्याटिङ गर्दै पाकिस्तानले भारतलाई जितका लागि १६० रनको लक्ष्य दियो। जवाफमा विराट कोहलीको अविजित ८२ रनको इनिङ्सको मद्दतमा भारतले  खेल ४ विकेटले जित्यो। टी–२० विश्वकप २०२२ को पहिलो खेलमा पाकिस्तानविरुद्धको जितको नायक विराट कोहली भए।

पहिलो खेलमा भारतको दुई पटक मात्रै हार 

टी–२० विश्वकप पहिलो खेलमा भारतले अहिले सम्म २ पटक मात्र हार व्यहोरेको छ। बाँकी ५ संस्करणका पहिलो खेल जितेको बेला एक खेल वर्षाका कारण हुन सकेको थिएन।

प्रकाशित: २३ जेष्ठ २०८१ १८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App