१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालविरुद्ध नेदरल्यान्ड्स : प्रभाव पार्न सक्ने दुई खेलाडी

अमेरिका र वेस्ट इन्डिजमा संयुक्तरूपमा जारी आईसीसी टी २० विश्वकप क्रिकेटमा नेपालले मंगलबार राति नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति सवा ९ बजे डल्लासमा सुरु हुनेछ । नेपाल चिरप्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई पराजित गर्दै विश्वकपमा सुखद् सुरुवातको योजनामा हुनेछ । 

समूह डीमा रहेका राष्ट्रमध्ये तुलनात्मकरूपमा कमजोर मानिएका दुवै देश पहिलो खेलमै २ अंक जोड्ने लक्ष्यमा हुनेछन् । साउथ अफ्रिका, श्रीलंका र बंगलादेश जस्ता टिमविरुद्ध जित निकाल्न कठिन हुने आकलनका बीच नेपाल र नेदरल्यान्ड्स एकअर्कालाई हराउने ध्याउन्नमा मैदान उत्रनेछन् ।  

 

रोहित पौडेल, नेपाल

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलबाट ठूलो आश गरिएको छ। जनावरी २३, २०१९ मा युएईविरुद्धको खेलमार्फत् ट्वान्टी २० आईमा डेब्यू गरेका रोहित पछिल्लो समय तेस्रो नम्बरमा सेट ब्याट्सम्यान हुन्।  

ट्वान्टी २० आईमा ४७ इनिङ्स खेलेका उनले २९.१५ को औषत र १२४.९१ को स्ट्राइक रेटमा एक हजार १०८ रन बनाएका छन्। योक्रममा उनले ६ अर्धशतक प्रहार गरेका छन्। गत वर्ष रोहितले १३ इनिङ्समा ५०.३७ को औसतमा ४०३ रन बनाएका थिए।  

विश्वकप खेल्न अमेरिका जानुअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध भएको शृंखलामा रोहितले एक शतक र दुई अर्धशतकसहित चार खेलमा २६५ रन बनाएका थिए।  

पहिलो खेलमा ११२ रन बनाएका उनले दोस्रो खेलमा अविजित ७१ रन र तेस्रो खेलमा ८२ रन बनाए। कप्तानी र ब्याटिङसँगै उनी स्पिन बलिङ गर्न पनि माहिर छन्। नवौ इनिङ्स बलिङ गरेका उनले २४.९५ को औषत र ६.९५ को इकोनोमीमा ५ विकेट लिएका थिए। वेस्ट इन्डिज ‘ए’ विरुद्धको शृंखलामा पनि उनले एक इनिङ्समा १० रन खर्चिएर एक विकेट लिएका थिए।

 

बास डे लीडे, नेदरल्यान्ड्स

ब्याट र बल दुबैबाट योगदान दिन सक्ने यस टोलीका सबैभन्दा ठूला स्टार हुन् बास डे लीडे। ट्वान्टी २० आईका ३१ इनिङ्समा ब्याटिङ गरेका २४ वर्षीय लीडेले चार अर्धशतक प्रहार गरिसकेका छन्।  

अप्रिल २१, २०२१ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको नेदरल्यान्ड्स र मलेसियासम्मिलित त्रिदेशीय ट्वान्टी २० आई शृंखलाअन्तर्गत नेपालविरुद्ध ८१ रनको इनिङ्स खेल्दै उनले करिअरको पहिलो अर्धशतक प्रहार गरेका थिए। त्यसयता उनले अमेरिका (९१ अविजित रन) र न्युजिल्यान्डविरुद्ध दुई (६६ र ५३ रन) अर्धशतक प्रहार गरिसकेका छन्। विश्वकपअघि स्कटल्यान्डसँग भएको खेलमा उनले २७ र आयरल्यान्डविरुद्धको खेलमा अविजित आठ रन बनाएका थिए।

बलिङतर्फ भने उनले २४ इनिङ्समा ३० विकेट लिएका छन्। उनले १७.७३ को औषत र ८.३१ को इकोनोमीमा बलिङ गर्ने गरेका छन्। उनको उत्कृष्ट बलिङ फिगर भनेको ३र१९ रहेको छ। विश्वकपअघि भएका स्टकल्यान्ड र आयरल्यान्डविरुद्धको खेलमा उनले ८३ रन खर्चिएर तीन विकेट लिएका थिए।

प्रकाशित: २२ जेष्ठ २०८१ १२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App