५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

बिदाइ कार्यक्रममा सामूहिक तस्बिर खिचाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोली। तस्बिर सौजन्य : विशाल पन्थ

१० वर्षपछि विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक समारोहका बीच नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको हो।

खेलाडीहरूलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले बिदाइ गरेका थिए।

नेपालले आगामी जुन ६ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने आइसिसी ट्वान्टी– २० विश्वकप खेल्दै छ। सन् २०१४ पछि नेपालले पहिलो पटक विश्वकप खेल्न लागेको हो। नेपाल विश्वकपको समूह ‘डी’ मा छ। यो समूहमा नेदरल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन्। नेपालले पहिलो खेल नेदरल्यान्डविरुद्ध जुन ४ मा खेल्ने छ।

बिदाइ कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले खेलले सम्पूर्ण नेपालीलाई एक ठाउँमा ल्याउने उल्लेख गर्दै घृणा र तृष्णाको फोहोर राजनीतिबाट पर राख्ने बताए। साथै उनले खेलकुदमा लागेर केही गर्न सकिन्छ भन्दै क्रिकेट खेल्न प्रेरित गर्ने खेलाडीका अभिभावकप्रति नमन गर्दै विश्वकपमा उल्लेख्य नतिजाका लागि शुभकामना दिए।

बिदाइ कार्यक्रममा नेपाली टोलीका सम्पूर्ण सदस्यका अभिभावकले नेपाली टोली र आफ्ना परिवारका सदस्यलाई बधाई तथा शुभकामना दिए। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को विश्वकप हेरेर नै आफूहरू उत्प्रेरित हुँदै क्रिकेटमा आएको उल्लेख गर्दै अब नयाँ पुस्तालाई उत्प्रेरित गर्ने जिम्मेरवारी आफ्नो टोलीमा रहेको बताए।

उनले यहाँसम्म पुग्न साथ सहयोग गर्ने सबै सरोकारवालाप्रति धन्यवाद दिए। उनले आफूजस्ता कयौं खेलाडीलाई यहाँसम्म पुग्न उत्प्रेरित गर्ने खेलाडीलाई पनि धन्यवाद दिन बिर्सेनन्।

कप्तान किरणकुमार पौडेल एवं प्रशिक्षक मोन्टी देसाई। 

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद नीति संशोधन गर्न मन्त्रालयले काम गरिरहेको बताए। सदस्यसचिव टंकलाल घिसिङले प्रतिबन्ध, नेपाली खेलकुदको अस्थिरता र महामारीका कारण नेपाली क्रिकेटलाई पुनः विश्वकपमा पुग्न दशक लागेको उल्लेख गर्दै यो सफलता दोहोर्‍याउन कडा मिहिनेत गर्ने खेलाडीलाई धन्यवाद दिए। उनले निरन्तर विश्वकप खेली एक दिन विश्वकप जित्ने वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गरे।

सदस्यसचिव घिसिङले आगामी विश्वकपमा नेपाली टोलीको साथमा १२औं खेलाडीको रूपमा सिंगो तीन करोड जनता नै रहने उल्लेख गर्दै उच्च आत्मबलका साथ खेल्न खेलाडीलाई आग्रह गरे। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालले दश वर्षअगाडि नै विश्वकप खेलेको उल्लेख गर्दै यस पटक नयाँ इतिहास रच्न नेपाली टोली जान लागेको बताए।

क्यानका सचिव पारस खड्काले क्रिकेटको स्तर सुधार्न सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का साथै सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए। वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले विश्वकप खेल्न जाने नेपाली टोलीलाई शुभकामना दिँदै आगामी दिनमा पनि आफ्नो टोली नेपाल आउन आतुर रहेको बताए।

प्रकाशित: २२ वैशाख २०८१ ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App