४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

वेस्ट इन्डिज 'ए' सँग नेपालको लगातार तेस्रो हार, गुम्यो पाँच खेलको शृंखला

वेस्ट इन्डिज 'ए' विरुद्धको चौथो टी- २० क्रिकेटमा नेपाल २८ रनले पराजित भएको छ। योसँगै भ्रमणकारी टोलीले ५ खेलको शृंखला एक खेल अगावै ३/१ ले जितेको छ। शृंखलाको पहिलो खेल जितेको नेपालले सोपछिका तीनै खेलमा हार भोगेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज 'ए' ले दिएको २१० रनको उच्च लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर १८१ रनमात्र बनाउन सक्यो।

क्याप्टेन रोहित पौडेलले ४७ बलमा ७ चौका र ५ छक्काको मद्दतमा ८२ रन बनाए पनि अन्यको प्रदर्शन उल्लेख्य हुन नसक्दा नेपाल हार भोग्न बाध्य भयो। ओपनरद्वय आसिफ शेख शुन्य र कुशल भुर्तेल एक रनमा आउट हुँदा कुशल मल्लले ४ रनमात्र बनाउन सके। दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले समान १९/१९ रन बनाए। अविनाश बोहोरा १७ रनमा नटआउट रहँदा सोमपाल कामीले १० रन बनाए।

नेपाललाई सस्तैमा समेट्न हैदेन वाल्स र म्याथ्यु फोर्डले समान ३/३ तथा फावियन एलेन र गुडाकेश मोटीले समान २/२ विकेट लिए। 

यसअघि पहिला ब्याटिङ गरेको भ्रमणकारी टोलीले निर्धारित ओभरमा ३ विकेट गुमाएर २०९ रनको उच्च योगफल तयार पारेको थियो।

विष्फोटक ब्याटिङ गरेका एन्ड्री फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्काको मद्दतमा नटआउट ८४ रन बनाए। जोनसन चाल्र्सले ५८ रन बनाउँदा फाबियन एलन ३३ रनमा नटआउट रहे।

नेपालका लागि कुशल भुर्तेलले २ र प्रतिश जिसीले एक विकेट लिए। ललित राजवंशी, अविनाश बोहोरा र गुल्शन झा भने नराम्ररी चुटिएका थिए।

शृंखलाको पाँचौ तथा अन्तिम खेल शनिबार हुनेछ।

प्रकाशित: २० वैशाख २०८१ १५:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App