मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतबीचको सम्बन्ध अतुलनीय रहेको बताएका छन्।
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौंद्वारा नयाँ वर्षको अवसरमा आज जनकपुरधाममा आयोजित ‘द्वितीय जनकपुरधाम सांस्कृतिक महोत्सव’ को उद्घाटन गर्दै उनले नेपाल–भारतबीचको सम्बन्ध हिमालभन्दा पनि उँचो र समुद्रभन्दा पनि गहिरो रहेको बताए।
नेपाल–भारतबीचको सम्बन्ध दुई देशको सरकारभन्दा पनि जनता–जनताबीच रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले भने, ‘यो कुराको पुष्टि रामलालाको प्राणप्रतिष्ठाको बेला दुवै देशमा देखिएको हर्षोत्सवले गरिसकेको छ।’
सीमा क्षेत्रमा सुरक्षा र राजस्वको क्षेत्रमा हुनसक्ने समस्या समाधानका लागि दुवै देशका सरकारले छलफल गरी दुवै देशलाई हित हुनेगरि कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा मुख्यमन्त्री यादवले जोड दिए।
भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवी सहाय मीना र भारतीय राजदूतावास काठमाडौँका प्रथम सचिव गीताञ्जलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनकपुरधाम उपमहानगरका प्रमुख मनोजकुमार साहसहितका वक्ताले सांस्कृतिक कार्यक्रमको सफलताको शुभकामना दिए।
महोत्सवअन्तर्गत आज साँझ सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गरिने छ। कार्यक्रममा मधेस प्रदेशसभाका सदस्यलगायत विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति थियो।
प्रकाशित: १ वैशाख २०८१ १९:०५ शनिबार