१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल ‘ए’ ले गुमायो शृंखला

विकेट लिएपछि नेपाली टोली। तस्बिर सौजन्य : क्यान

बिर्सनलायक ब्याटिङसँगै नेपाल ‘ए’ ले शुक्रबार आयरल्यान्ड ‘ए’ विरुद्ध दोस्रो एकदिवसीय खेलमा लज्जापूर्ण हार सामना गर्दै शृंखला गुमाएको छ।

कीर्तिपुरमा खराब ब्याटिङले निरन्तरता पाएपछि नेपाल ‘ए’ ले शुक्रबार पाहुना टोलीसँग ११४ रनको फराकिलो हार बेहोर्‍यो। यससँगै नेपाल ‘ए’ तीन खेलको एकदिवसीय शृंखलामा २–० ले पछि परेको छ। यसअघि तीन खेलको ट्वान्टी–२० शृंखला पनि नेपाल ‘ए’ ले २–१ ले गुमाएको थियो।

त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ ले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाली टोली १६.५ ओभरमा ६० रनमै अलआउट हुन पुग्यो। नेपालका कुनै पनि ब्याटरले धैर्यपूर्वक ब्याटिङ गर्न सकेनन्। नेपाल ‘ए’ का कप्तान अनुभवी विनोद भण्डारी हुन्।

उनको कप्तानीमा रहेको नेपाली टोलीले लगातार दोस्रो खेलमा खराब ब्याटिङ गर्‍यो। भीम सार्कीले १७ र कप्तान विनोदले १६ रन बनाए। यो नै नेपालका लागि दोहोरो अंकको योगदान थियो।

ओपनर देव खनाललाई शून्यमा नै गुमाउँदा नेपालले खाता नै खोलेको थिएन। त्यसपछि नेपाल समालिन सकेन। डेब्युटेन्ट नरेन भट्टसहित पाँच ब्याटरले नै खाता खोल्न सकेनन् र नेपालको ब्याटिङ धराशयी बन्यो। अनुभवी आरिफ सेख र नेपालको यु–१९ टोलीका कप्तानसमेत रहेका देवले पनि खाता खोल्न सकेनन्।

आयरल्यान्ड ‘ए’ का म्याथ्युज हम्फ्रेजको बलिङमा नेपालको इनिङ धराशयी बन्यो। उनले ४.५ ओभरमा एक मेडन राख्दै ६ विकेट लिए। यस क्रममा ८ रन मात्र दिँदै उनी निकै किफायती बने। फियोन हान्ड र थोमस मायसले समान दुई विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ३८.४ ओभरमा १७४ रनमै अलआउट भयो।

नेपालका बलरले दोस्रो दिन पनि राम्रो बलिङ गर्दै पाहुना टोलीलाई सामान्य योगफलमा रोकेका थिए। तर, ब्याटिङमा भने साथ पाउन सकेनन्। साहब आलम र रिजन ढकालले पाहुना टोलीका शीर्ष क्रमलाई सस्तैमा आउट गरे।

त्यससँगै आयरल्यान्ड ‘ए’ ले खातामा ३४ रन जोड्दा पाँच विकेट गुमाउन पुग्यो। तर, मध्यक्रमका ब्याटर तथा कप्तान निल रकले ४५ रन र तल्लो क्रमका गाभिन होईले ५० रनको योगदान दिए। कप्तान निलले ३८ बलमा समान तीन चौका र छक्का प्रहार गरे।

गाभिनको इनिङमा पाँच चौका र दुई छक्का रह्यो। नेपालका तीव्र गतिका बलर कमलसिंह ऐरीले २१औं ओभरमा कप्तान निललाई आउट गरे। त्यो विकेटपछि पाहुना टोली ९४/७ को नाजुक अवस्था पुग्यो।

तर, नवौं नम्बरका ब्याटर लियाम म्याकर्थीले गाभिनलाई साथ दिए। म्याकर्थीले ३५ रनको योगदान दिए। ५४ बल खेलेका म्याकर्थीले तीन चौका हिर्काए। नेपालका बलरले सुरुदेखि दबाबमा राखे।

रिजन ढकाल र साहब आलमले समान तीन विकेट निकाल्दा मौसम ढकालले दुई तथा कमलसिंह ऐरीले एक विकेट लिए। नेपालले अब तेस्रो खेल जित्दै शृंखलाको सुखद अन्त्य गर्ने लक्ष्य छ। तेस्रो खेल आगामी आइतबार हुनेछ।

प्रकाशित: २४ चैत्र २०८० ०७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App