१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

नेपालको नाटकीय हार

आयरल्यान्ड ‘ए’ विरुद्ध ब्याटिङ गर्दै नेपाल ‘ए’ का लोकेश बम। तस्बिर : क्यान

जितनजिक पुगे पनि नेपाल ‘ए’ शुक्रबार नाटकीय रूपमा विकेट पतनपछि आयरल्यान्ड ‘ए’ सँगको पहिलो ट्वान्टी-२० क्रिकेटमा हार सामना गर्न बाध्य भएको छ।

ओपनर लोकेश बमको आक्रामक शतकीय इनिङ प्रेरित नेपाल शुक्रबार कीर्तिपुरमा जितनजिक पुगेको थियो। तर, खातामा ८ रन जोड्ने क्रममा नाटकीय रूपमा ६ विकेट पतनसँगै नेपालले २१ रनले नतिजा सुम्पियो। यससँगै तीन खेलको शृंखलामा नेपाल ‘ए’ पछि परेको छ।

सिनियर राष्ट्रिय टोलीले भने आयरल्यान्ड ‘ए’ सँग दुई खेलको शृंखलामा क्लिन स्विप गरेको थियो। चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले जितको आशा देखाए पनि सफल हुन सकेन। लोकेशले १०२ रनको शतकीय इनिङ खेलेका थिए।

त्यो इनिङसँगै त्रिवि क्रिकेट मैदानमा २२३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल जितनजिक थियो। जितका लागि १८ बलमा ३० रन आवश्यक हुँदा नेपालसँग ६ विकेट हातमा थियो। १७औं ओभरमा १९३-४ को अवस्थामा रहेको नेपाल लगातार विकेट पतनपछि १९.३ ओभरमा २०१ रनमै समेटियो।

नेपालले १८औं, १९औं र २०औं ओभरमा समान दुई विकेट गुमाएको थियो। नेपालका लोकेशले ५२ बलमा नै शतक पूरा गरे। उनी १६औं ओभरको अन्तिम बलमा फिओन हान्डद्वारा आउट भए।

लोकशले ५६ बलमा ९ चौका र ८ छक्का हिर्काए। उनले चौथो विकेटका लागि आरिफ सेखसँग १२१ रनको यादगार साझेदारी गर्दै जित आधार बनाए। तर, १८औं ओभरमा आरिफ आउट भएपछि कुनै पनि ब्याटर टिक्नै सकेनन्। आरिफ ४९ रनमा पाँचौं विकेटका रूपमा आउट भए।

२६ बलमा उनले एक चौका र पाँच छक्का प्रहार गरे। ओपनर तथा कप्तान विनोद भण्डारीले १६ रन बनाए र त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। त्यसपछि किरण ठगुन्ना २ र बसिर अहमद ३ रनमा आउट भए।

रासिद खान, कमलसिंह ऐरी र हेमन्त धामीले खाता नै खेल्न सकेनन्। आयरल्यान्ड ‘ए’ को बलिङमा हान्ड र म्याथ्युज हाम्फ्रेजले तीन तथा म्याथ्यु फोस्टरले दुई, थोमस मायस र गोभिन होएले समान एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डको टोलीले निर्धारित २० ओभरमा पाँच विकेट मात्र गुमाउँदै २२२ रनको विशाल योगफल खडा गर्‍यो। पाहुना टोलीको सुरुआत राम्रो हुन सकेन। इनिङको दोस्रो बलमा नै ओपनर रोस एडेरलाई गुमायो।

तर, त्यसपछिका ब्याटरले आक्रामक ब्याटिङमा विशाल योगफल खडा गरे। ओपनर पिटर मोरले ४९ रन, केड कार्मिकाइल र कप्तान निल रकले समान ३८ रन, स्टेफन डोहेनीले ३४ रन जोड्दा ग्यारेथ डेलेनीले ३० रन र गाभिनले १८ रन बनाएपछि घरेलु टोलीले चुनौतीपूर्ण लक्ष्य सामना गर्‍यो।

नेपालको बलिङमा कमलसिंह ऐरीले तीन विकेट तथा सागर ढकाल र आरिफले समान एक विकेट लिए पनि महँगा बने। नेपालले शनिबार दोस्रो खेल खेल्नेछ।

प्रकाशित: १७ चैत्र २०८० ०६:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App