१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

इटहरी गोल्डकप : राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा

आयोजक राष्ट्रिय जागृति क्लब (नीलो जर्सी) र कञ्चनजङ्घा फुटबल क्लब भारतको टोलीबीच प्रतिस्पर्धा हुँदै। तस्बिर : नागरिक

आयोजक राष्ट्रिय जागृति (राजा) क्लब १४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको दोस्रो क्वाटरफाइनल खेलमा आयोजकले पाहुना टोली कञ्चनजङ्घा फुटबल क्लब भारतलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

इटहरी रंगशालामा भएको खेलको निर्धारित समयमा दुवै समूहले बराबरी गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा परिणत भएको थियो, जसमा ५–४ गोल अन्तरले पराजित गर्दै आयोजक राष्ट्रिय क्लब विजयी भएको हो। निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १–१ गोल गरेका थिए। त्यसपछि  खेलको निर्णय सीधै पेनाल्टी सुटआउटबाट लिइएको हो।

पेनाल्टीमा कञ्चनजंघाका एरिन तामाङको प्रहार बाहिरियो, जसले गर्दा कञ्चनजङ्घाले हार बेहोर्नुपर्‍यो। उसका चारजना खेलाडी अभिषेक लामा, निवाङ तामाङ, पुजन सुब्बा र सरोनको प्रहार मात्र गोलमा परिणत भएको थियो।

आयोजकका तर्फबाट पाँचैजनाले गोल गरे, जसमा योगेन्द्र कार्की, प्रवेश दनुवार, विशाल भण्डारी, उमेश कार्की र अन्तिम पेनाल्टी प्रहार गर्न आएका विदेशी खेलाडी नेपोलिनको प्रहारले सीधै जाली चुमेपछि आयोजकको जित निश्चित भएको हो।

त्यसअघि निर्धारित समयको १३औं मिनेटमा कञ्चनजङ्घाले पहिलो गोल गरेर अग्रता लिएको थियो। कञ्चनजङ्घाका एरिन तामाङको पासमा पुजन सुब्बाले गोल गरेका थिए। पहिलो हाफमा १-० ले अग्रता लिएको कञ्चनजङ्घाले दोस्रो हाफमा भने पटकपटक गोल गर्ने अवसर चुकाएको थियो। खेलको ८६औं मिनेटमा आयोजकका नेपोलिनले गोल गरेपछि खेल बराबरीमा पुर्‍याए।

राष्ट्रिय जागृति क्लबले अब सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड र न्युरोड टिम एनआरटीबीच मंगलबार हुने अन्तिम क्वाटरफाइनल खेलको विजेतासँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। आइतबारको खेलको म्यान अफ दि म्याच विजयी टिमका नेपोलिन घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त पाए।  

सोमबारको तेस्रो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाडौं र बिर्तामोड युनाइटेडबीच प्रतिस्पर्धा हुने छ। शनिबार हुने फाइनल खेलको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छ। सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार प्राप्त गर्ने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिने छ।

प्रकाशित: १२ चैत्र २०८० १२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App