विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा भइरहेको कोशी प्रदेश राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको (एपिएफ) र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्।
प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा घरेलु टोली कोशी प्रदेशलाई ४ विकेटमा विभागीय टोली सशस्त्र प्रहरी बलको (एपिएफ)ले हराउँदै जितको सुरुवात गरेको छ।
समूह ‘ए’ मा रहेको कोशी ३ खेलमध्ये १ मा जित र २ मा पराजित हुँदै २ अङ्कका साथ तेस्रो स्थानमा छ। एपिएफ २ खेलमध्ये १ मा जित र १ मा पराजित हुँदै २ अङ्कका साथ चौथो स्थानमा छ।
कोशीले टस जितेर थालेको ब्याटिङमा २० ओभर पूरै खेल्दै सबै विकेटको क्षतिमा १ सय १७ रन बनायो। सोनु अन्सारीले ३१ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ४३ रन, अंकित सुवेदीले २७ बलमा ५ चौकाको मद्दतले ३२ रन र श्रवण यादवले १९ रन बनाए। एपिएफका लागि प्लेयर अफ द म्याच भुवन कार्की, यज्ञमान कुमाल, अमर रोटेला र इर्साद अहमद समान २–२ विकेट लिए।
१८ ओभर ५ बल खेल्दै ६ विकेटको क्षति पाएको १ सय १८ रनको लक्ष्य पूरा गर्दै जित्यो। पुरन विकले ३९ बलमा ३ चौका प्रहार गर्दै ३६ रन, प्रनित थापा मगरले २० र अरुण ऐरीले १५ रन बनाए। कोशीका लागि फिर्दोस अन्सारीले ४ ओभरमा १६ खर्चेर ३ विकेट लिए।
अर्को खेलमा सुदूरपश्चिम प्रदेशले बाग्मती प्रदेशलाई २ विकेटले पराजित गरेको छ। जितसँगै समूह ‘बि’मा रहेको सुदूरपश्चिम ६ अङ्कसहित समूहको दोस्रो स्थानमा छ। ४ खेल खेलको सुदूरपश्चिमले १ खेलमा हार व्यहोरेको छ भने ३ खेलमा जित निकाल्दै ६ अंक प्राप्त गर्यो। बाग्मतीले खेलको दुई खेलमा पराजय भोगेको छ। बाँकी रहेको २ खेलमा जित निकाले पनि समूह चरणबाट बाहिरिने पक्का भएको छ।
टस जित्दै ब्याटिङ थालेको बाग्मतीले २० ओभर पूरै खेल्दै सबै विकेटको क्षतिमा १ सय १७ रन बनाउन सफल भयो। व्यक्तिगत स्कोरतर्फ शुभ कंसकारले ३४ बल खेल्दै ३ छक्का र ४ चौकाको मद्दतले ४१ रन र रविन जोशीले ३९ बलमा १ छक्का र २ चौका प्रहार गर्दै ३१ रन बनाए। सुदूरपश्चिमका लागि प्लेयर अफ द म्याच नारायण जोशीले २ ओभरमा ९ रन खर्चंदै ३ विकेट र नरेन साउदले ४ ओभरमा २५ रन खर्चंदै २ विकेट लिए।
सुदूरपश्चिमले १९ ओभर २ बलमा ८ विकेट गुमाउँदै पाएको १ सय १८ रनको लक्ष्य पार गर्यो। नरेन भट्टले २७ बलमा ४ चौकाको मद्दतले ३० रन, दीपक बोहराले २५ बलमा २ छक्का प्रहार गर्दै २२ रन र किरण ठगुनाले २१ रन र नारायण जोशीले १६ रन बनाए। बाग्मतीका लागि गौतम केसीले ४ ओभरमा २३ रन दिएर ३ विकेट, विपिन आचार्य र इशान पाण्डेले २–२ विकेट लिए।
प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेल घरेलु टोली कोशी र त्रिभुवन आर्मी क्लब तथा दोस्रो खेल बाग्मती र गण्डकी प्रदेशबिच हुनेछ।
प्रकाशित: २८ फाल्गुन २०८० १९:५३ सोमबार