२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

सरकारले व्यवसायीलाई दुःख दिँदैन : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई नडराउन आग्रह गरेका छन्। निजी क्षेत्रका प्रतिनिधिसँग आइतबार भएको छलफलमा उनले सरकार र रास्वपाप्रति सशङ्का नगर्न पनि आग्रह गरे।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सलगायत संस्थाका प्रतिनिधिसँगको भेटमा उनले निजी क्षेत्र डराएको संकेत देखिएकाले संवाद आवश्यक ठानेको बताए। 'तपाईंहरू डराउनुपर्ने वा आत्तिनुपर्ने कुनै कारण छैन, हामी व्यवसायीलाई कुनै खालको दुःख दिन चाहँदैनौँ,' उनले भने।

केही व्यवसायी तथा पात्रहरूले अर्थतन्त्रलाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास गरेकाले सरकार कडाइका साथ अघि बढ्नुपरेको उनले स्पष्ट पारे। वास्तविक अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रका समस्या समाधान गर्नुपर्ने र त्यसका लागि ‘रोडम्याप’ तयार भइसकेको उनले जानकारी दिए।

उद्योगी–व्यवसायीले समस्या समाधानका लागि घरघर र पार्टी कार्यालय धाउन नपर्ने भन्दै उनले सहज रूपमा समाधान खोजिने बताए। 'हामी फरक ढङ्गबाट परिवर्तन महसुस गराउन चाहन्छौँ,' उनले भने।

छलफलमा महासङ्घका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई सहज रूपमा काम गर्न दिन आग्रह गरे। “हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्छ, यस्तो हुनु हुँदैन,” उनले भने।

परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पुँजी निर्माण घटिरहेको अवस्थामा निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक रहेको बताए। चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले बहुमतसहितको सरकारसँग आर्थिक सुधारको अपेक्षा रहेको उल्लेख गरे।

फरक प्रसङ्गमा लामिछानेले सरकारले कसैलाई पनि घरबारविहीन नबनाउने बताए। 'जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न खोजेका छौँ,' उनले भने।

प्रकाशित: २० वैशाख २०८३ १६:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App