२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

बोक्सी आरोपमा दलित महिलामाथि हिंसा, मल-मूत्र खुवाएको आरोप

रौतहटमा बोक्सी आरोपमा एक दलित महिलालाई मल-मूत्र खुवाएको सार्वजनिक भएको छ।

जिल्लाको कटहरिया नगरपालिका-९ की ५५ वर्षीया पूर्व वडा सदस्य अंकलिया देवी मुसहरिनलाई बोक्सी भन्दै केही स्थानीयले बलपूर्वक मानव मल-मूत्र खुवाएका छन्।

वडा सदस्य अंकलियाका छिमेकी पुकार माझीको घरमा बिहेको अवसरमा पर्सा जिल्लाबाट आएको जन्तीमा सहभागी एक १० वर्षीय बालकले उल्टी गरेपछि अंकलिया देवीले नै जादू–टुना गरेको आरोप लगाइएको थियो।  

शनिबार साँझ करिब ७ बजेको समयमा १५-२० जनाको समूह एक्कासी अंकलियाको घरभित्र पसेर उनीमाथि कुटपिट गर्दै बियरको बोतलमा मल-मूत्र घोलेर जबर्जस्ती खुवाएको पीडिताकी छोरी सुमिला देवी मुसहरिनको आरोप छ।

जन्तीमा सहभागी बालक बिरामी भएपछि घरमै बसिरहेका आमा–छोरीमाथि कुटपिट भएको सुमिलाले दुःखेसो पोखिन्। घटनामा पुकार माझी, राजेन्द्र माझी, लक्ष्मी माझी, शंकर माझी, सुरेन्द्र ठाकुर, गौरी साह लगायत एक दर्जनभन्दा बढीको संलग्नता रहेको पीडितले आरोप लगाएका छन्।

घटना भएलगत्तै इलाका प्रहरी कार्यालय कटहरियाको प्रहरी टोलीले अचेत अवस्थामा रहेकी अंकलियालाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाएका थिए। उपचारपछि उनको अवस्था सामान्य रहेको रौतहट प्रहरीले जनाएको छ।

तर, घटनालगत्तै आरोपीहरू पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि आरोपित पक्षद्वारा अवरोध खडा गर्नुका साथै आक्रमणको प्रयास समेत गरेको प्रहरीले जनाएको छ। स्थिति तनावपूर्ण बनेपछि थप सुरक्षा सतर्कता अपनाइएको थियो।

इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी शंकर प्रसाद आचार्यले घटनाबारे गहन अनुसन्धान भइरहेको र उक्त घटनामा दोषी देखिएकाहरूलाई कडा कारबाही गर्ने बताएका छन्।

प्रकाशित: २० वैशाख २०८३ १६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App