१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

इटहरी गोल्डकप चैत १० गतेदेखि

१४ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरीगोल्डकप फुटबल प्रतियोगिता चैत १० गतेदेखि हुने पत्रकार सम्मेलन गरी जानकारी दिंदै आयोजक। तस्बिर : नागरिक

१४ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत १० गते देखि हुने भएको छ।

मंगलबार पत्रकार सम्मेलन गरी आयोजक राष्ट्रिय जागृति क्लबले प्रतियोगिता आगामी चैत १० गते देखि १९ गतेसम्म रात्रिकालीन समयमाहुने जानकारी दिइयो।

एक सातासम्म चल्ने गोल्ड कपमा विजेताले नगद १० लाख र उपविजेतालाई पाँच लाख प्रदान गरिनेछ। वर्षेनी विजेता र उपविजेताको रकम वृद्धि गर्ने पूर्व घोषणा गरिए पनि यस वर्ष अघिल्लै वर्षको सरह नगद पुरस्कार प्रदान गर्न लागिएको हो।

प्रतियोगिता संयोजक अनुरोध थापाका अनुसार दुई भारतीय र नेपालका ८ गरी १० टिमको सहभागिता रहने खेलमा सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ। 

विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार प्रदान गरिनेछ।

इटहरी उपमहानगरपालिका संयोजन रहेको प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, चर्ज ब्वाईज युनाईटेड, मच्छिन्द्र क्लब, न्यूरोड टिम एनआरटी, १३ संस्करणको विजेता सगरमाथा क्लब मोरङ, कञ्चनजङ्गा फुटबल क्लब भारत, बिर्तामोड युनाईटेड झापा, मानेभञ्ज्याङ क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लबको सहभागिता रहनेछ।

क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार प्रतियोगितामा ७५ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताका लागि इटहरी उपमहानगरपालिकाले १२ लाख रुपैयाँ विनियोजन गरेको छ। अरु रकम कोसी प्रदेश खेलकुद विकास बोर्डले १५ लाख र राष्ट्रिय खेलकुद परिषदबाट १० लाख रुपैयाँ सहयोग हुनेछ। अन्य रकम भने स्थानीय सहयोगीदाता र टिकट बिक्रीबाट हुनेछ।

प्रतियोगिताको अघिल्लो १३ औं संस्करणमा तीन लाख ५० हजार नाफा भएको पनि जानकारी दिइयो। प्रतियोगितालाई कन्ट्रोल लुब्रीकेन्टले मुख्य प्रायोजन गरेको छ।

प्रकाशित: २२ फाल्गुन २०८० १७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App