२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

दाङ क्रिकेट लिग : दंगाली लायन्स र तुलसीपुर रोयल्स फाइनलमा

दाङ क्रिकेट लिगको दाेस्रो संस्करणको फाइनलमा दंगाली लायन्स र तुलसीपुर रोयल्स भिड्ने भएका छन्। शुक्रबार भएको पहिलो खेलमा देउखुरी वारियर्सलाई पराजित गर्दै दंगाली लायन्सले फाइनल यात्रा पक्का गर्‍यो भने दोस्रो खेलमा घोराही टाइगर्सलाई पराजित गर्दै तुलसीपुरले फाइनल यात्रा तय गर्‍यो। उपाधिको लागि शनिबार दंगाली लायन्स र तुलसीपुर रोयल्स आमनेसामने हुँदैछन्।

लिग चरणका खेल समाप्त हुँदा तुलसीपुर रोयल्स सबै ४ खेलमा जित दर्ता गर्दै ८ अंकसहित शीर्ष स्थानमा रह्यो। दोस्रो स्थानमा रहेको दंगाली लायन्सले ४ खेलमा ३ जित र १ खेलमा हार बेहोर्‍यो। घोराही टाइगर्स ४ अंकसहित तेस्रो, पुरनधारा च्यालेन्जर्स २ अंकसहित चौंथो तथा सबै ४ खेलमा पराजित देउखुरी अंकविहीन रहँदै पाँचौं स्थानमा सीमित बन्यो।

शुक्रबारको पहिलो खेलमा दंगाली लायन्सले देउखुरी वारियर्सलाई ६ विकेटले पराजित गर्‍यो। देउखुरीले दिएको १२६ रनको लक्ष्य दंगालीले ४ विकेट गुमाएर १८.४ ओभरमा भेटायो। दंगाली लायन्सका लागि ओपनर शंकर रानाले अविजित ६७ रन योगदान दिए। बसिर अहमदले २५, शिशिर डाँगीले अविजित १७ रन बनाए।

देउखुरीका विशाल विक्रम केसीले २ तथा शुभम खनाल र प्रज्ज्वल थापाले १-१ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको देउखुरी वारियर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो। देउखुरीको लागि ओपनर विशालविक्रम केसीले सर्वाधिक ४४ रन बनाए।

यस्तै आवाज गौतमले अविजित १७ रन, आशिष ओली र थमन ओलीले समान १५ रन तथा शुभम खनालले अविजित १० रन योगदान दिए। बलिङतर्फ दंगाली लायन्सका बसिर अहमदले सर्वाधिक ३ विकेट लिए। शंकर रानाले २ तथा बिपिन खत्री, वीरबहादुर घर्तीमगर र प्रकाश जैसीले १-१ विकेट लिए।

यसैगरी दोस्रो खेलमा तुलसीपुर रोयल्सले घोराही टाइगर्सलाई ४१ रनले पराजित गर्यो। फाइनल पुग्न घोराहीले १५१ रनको लक्ष्य पर्ने थियो, तर घोराहीले २० ओभर ब्याटिङ गर्दा ९ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो। घोराहीका लागि दिपेश कँडेलले सर्वाधिक २४ रन, सुशान्त सिंह थापाले २२ रन, युनिसविक्रम सिंहले १७ तथा रबिन थापाले १३ रनको योगदान दिए।

तुलसीपुर रोयल्सको बलिङमा अमरसिंह रौटेला र नविन विकले २÷२ तथा रुपेश सिंह, दिवान पुन र विराटसिंह भण्डारीले १-१ विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको तुलसीपुर रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५० रन बनाएको थियो।

तुलसीपुरका लागि शंकर बुढाले सर्वाधिक ४३ रन बनाए। विपिन रावलले ३१ तथा अमर सिंह रौटेलाले ३० रन बनाए। घोराही टाइगर्सको बलिङमा दिपेश कँडेलले सर्वाधिक ३ विकेट लिए।

मिलन बुढाथोकीले २ तथा रविन थापा र युनिशविक्रम सिंहले १÷१ विकेट लिए। जिल्ला क्रिकेट संघको आयोजनामा चलिरहेको प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: १८ फाल्गुन २०८० १८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App