१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विश्व ओलम्पिक बक्सिङ छनोट : दुई नेपाली बक्सरले प्रतिस्पर्धा गर्ने

नेपालका दुई बक्सरले इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।

आगामी मार्च तीनदेखि ११ सम्म हुने यो प्रतियोगिता पेरिस ओलम्पिक छनोटको आधार पनि हो। यस छनोट प्रतियोगिताको चन्द्रबहादुर थापाले पुरुष ५१ केजीमा र अञ्जली तेलीले महिला ५४ केजी तौल समूहमा नेपालका तर्फबाट चुनौती प्रस्तुत गर्ने भएका हुन्।

आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपकोे क्वार्टरफाइनलसम्म पुगेर अञ्जलीले नेपाली बक्सिङमा इतिहास रचेकी थिइन्। उनीसँगै चन्द्रबहादुर ओलम्पिक छनोट हुने लक्ष्यसहित मिलान प्रस्थान गर्दै छन्। सो टोलीको प्रशिक्षकमा प्रचण्ड शर्मा र व्यवस्थापकमा नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारी छन्।

कुल चार सदस्यीय नेपाली टोली बिहीबार इटाली प्रस्थान गर्दै छ। ३२ वर्षयता नेपाली बक्सर ओलम्पिक खेल्न असफल रहँदै आएका छन्। स्पेनको बार्सिलोनामा सम्पन्न सन् १९९२ को २५औं संस्करणदेखि नेपाली बक्सर ओलम्पिक खेल्न असफल छन्।

बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले पाँच महादेशबाट ६८ पुरुष र ७५ महिला खेलाडी पेरिस ओलम्पिकका लागि छनोट भइसकेको जानकारी दिए। मिलानको प्रतियोगिताबाट भने २८ पुरुष र २१ महिला खेलाडी पेरिस ओलम्पिकका लागि छनोट हुनेछन्।

छनोट प्रतियोगिताका पदक विजेताले पेरिस ओलम्पिक खेल्नेछन्। इटालीपछि पनि पेरिस ओलम्पिकका लागि अभैm एक छनोट प्रतियोगिता हुनेछ। त्यो प्रतियोगिता थाइल्यान्डको बैंककमा मे महिनामा हुने तय छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतले बुधबार एक कार्यक्रमबीच टोलीको बिदाइ गरे। सो अवसरमा राखेप सदस्यसचिव घिसिङले पेरिस ओलम्पिकका लागि परिषद्ले विशेष तयारी गर्ने विश्वास व्यक्त गरे।

‘नेपालले ओलम्पिकको बक्सिङमा सहभागिता नजनाएको ३२ वर्ष भएछ। यो लामो समय हो,’ उनले भने, ‘सायद अबको समय तपाईं दुई जनाको हुन सक्छ। उत्कृष्ट प्रदर्शन गरेर आफूलाई प्रमाणित गरी इतिहास रच्नुस्। तपाईंहरूलाई शुभकामना छ। पेरिस ओलम्पिकका लागि परिषद् नयाँ ढंगले तयारी अगाडि बढाउँदै छ।’

प्रकाशित: १७ फाल्गुन २०८० ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App