२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल ‘ए’ को खराब सुरुआत

क्यानडा– ११ विरुद्ध ब्याटिङ गर्दै नेपाल ‘ए’ का बसिर अहमद। तस्बिर : क्यान

नेपाल ‘ए’ ले पहिलो एकदिवसीय खेलमा क्यानडा– ११ सँग चार विकेटको हार बेहोर्दै एकदिवसीय शृंखलामा खराब सुरुआत गरेको छ।

जितसँगै आइसिसी विश्वकप लिग– २ को तयारीस्वरूप खेलिएको तीन खेलको शृंखलामा क्यानडा– ११ ले १–० को अग्रता लिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले अनुभवी विकेटकिपर तथा ब्याटर विनोद भण्डारीको कप्तानीमा नेपाल ‘ए’ बनाएको हो। नेपाल ‘ए’ मा राष्ट्रिय टोलीका पूर्वसदस्य, पिएम कपमा छाप छोड्न सफल खेलाडी र नेपालको यु–१९ क्रिकेट टोलीका सदस्य छन्।

यसअघि नेपालको राष्ट्रिय टोलीसँग खेल्न आएको क्यानडाको राष्ट्रिय टोलीका सदस्य नै क्यानडा– ११ मा छन्। अब यो शृंखलाको दोस्रो खेल मंगलबार हुनेछ।

मूलपानी क्रिकेट मैदानमा आइतबार नेपाल ‘ए’ ले दिएको २१७ रनको लक्ष्य क्यानडाले ४९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। क्यानडाका लागि नवनीत धलिवालले सर्वाधिक ८० रनको योगदान दिए। उनले ७६ बलमा १० चौका र दुई छक्का प्रहार गरे। निखिल दत्त ६७ रनमा अविजित रहे।

११५ बलमा खेलेका निखिलले पाँच चौका र एक छक्का हिर्काए। पाँचांै विकेटका लागि धलिवाल र निखिलले ७५ रनको साझेदारी गरे। कप्तान साद बिन जफरले २३ रन जोड्दा दिलप्रीत बाज्वाले १० रन बनाए। त्यसपछि साद बिन जफर र निखिलले ५४ रनको साझेदारी गरे।

श्रेयस मोम्भाले अविजित २२ रन जोड्दा निखिललाई साथ दिए। नेपाल ‘ए’ को बलिङमा साहब आलमले दुई तथा रासिद खान, बसिर अहमद, प्रतीश जित र सागर ढकालले समान एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २१६ रनको योगफल तयार पार्‍यो। नेपाल ‘ए’ का बसिर अहमद ५० रनमा नटआउट रहे।

उनले ५५ बलमा तीन चौका र एक छक्का हिर्काए। ओपनरद्वय अर्जुन कुमाल र मयन यादवले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए। आठौं ओभरको पाँचौं बलमा अर्जुन क्यानडाका कप्तान सादबाट क्याच भए।

रासिद खानले ४०, मायनले ३६, किरण ठगुन्नाले २५, विवेक यादवले २३ र सन्दीप जोराले १४ रन बनाउँदा नेपालले दुई सय रन पार गरायो। क्यानडाका लागि कप्तान सादले १० ओभरमा ३० रन खर्चेर तीन विकेट लिए। ईश्वरजोत सोधीले २ तथा डिलोन हेलिगर, हर्ष ठाकर र सहिद अहमदजाईले समान एक विकेट हात पारे।

प्रकाशित: ७ फाल्गुन २०८० ०६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App