१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल एसिया कप खेल्ने अवसरबाट वञ्चित

मलेसियाविरूद्ध बलिङ गर्दै कविता कुँवर। तस्वीर: क्यान

नेपाल एसिसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा शुक्रबार मलेसियासँग चार विकेटले स्तब्ध भएसँगै एसिया कप खेल्ने अवसरबाट वञ्चित भएको छ।

यस प्रतियोगिताको फाइनलमा पुग्ने टोलीले सन् २०२४ को सेप्टेम्बरमा हुने एसिया कप खेल्ने अवसर पाउँथ्यो। तर, नेपाल शुक्रबार घरेलु टोली मलेसियासँग पराजित हुँदै अवसर गुमाउन पुग्यो।

क्वालालम्पुरको बायुमस ओभलमा नेपालले दिएको ११६ रनको मध्यम लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा निर्धारित २० ओभर सकिन अन्तिम बल बाँकी छँदा नै पूरा गर्‍यो।

जितका लागि अन्तिम दुई ओभरमा मलेसियालाई १८ रन आवश्यक थियो। कविता जोशीले १९औं ओभरमा सात रन मात्र दिँदै दबाब बनाइन्। डेथ ओभरमा भने नेपालले खराब बलिङ गर्‍यो। महत्त्वपूर्ण बलर मानिएकी कविता कुँवर नै चुकिन्।

उनले दुई चौकासहित ११ रन दिएपछि नेपाल स्तब्ध बन्यो। घरेलु टोलीकी इल्सा हन्टरले ६९ रनमा अविजित रहँदै नेपालीको सपनामा तुषारापात गरिन्। ५३ बलमा उनले ६ चौका प्रहार गरिन्।

माहिर इजातीले १६ रन जोड्दा मास इलिसाले १३ रन र वान जुलियाले ११ रनको योगदान दिए। नेपालले उत्कृष्ट सुरुआत गरे पनि जोगाउन सकेन। तेस्रो ओभरमा नै नेपालले मलेसियाका दुई ओपनरलाई सस्तैमा आउट गरेको थियो।

लयमा रहेकी कप्तान विनिफ्रेड दुरैसिंगम २ रनमा र आइना हामिजा खाता नखोल्दै पभेलियन फर्किएका थिए।

त्यसपछि भने हन्टरले यादगार इनिङ खेल्दै नेपालको लक्ष्य पूरा हुन दिइनन्। १३ ओभरमा मलेसिया ५९/३ को स्थितिमा थियो। तर, त्यसपछि सात ओभरमा मलेसियाले रन गति बढाउँदै जित निकाल्यो।

नेपालको बलिङमा कविता जोशी र सीता रानामगरले समान दुई विकेट लिए। कविता कुँवर र रुबिना क्षत्रीको नाममा समान एक विकेट रह्यो। ३.५ ओभरमा कविता २५ रन बेहोर्दै महँगी साबित भइन्। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ११५ रनको मध्यम योगफल बनायो।

 नेपालको खराब सुरुआत रह्यो। अनुभवी सीता रानामगर ६ रनमै पभेलियन फर्किइन्। ३.५ ओभरमा नेपाल १०/१ को स्थितिमा थियो।

पहिलो १० ओभरमा सुस्त ब्याटिङ गरेको नेपालले एक विकेटको क्षतिमा ४५ रन मात्र जोडेको थियो। तर, त्यसपछि १० ओभरमा ७० रन जोड्दै नेपालले रनको गति बढाएको हो।

कप्तान इन्दु बर्माले २९ रन जोड्दा ओपनर कविता कुँवरले २३ रन जोडिन्। पूर्वकप्तान रुबिना र डली भट्टले आक्रामक ब्याटिङ गर्दै इनिङ उकासेका हुन्।

 रुबिनाले १८ बलमा २० रन र डलीले १४ बलमा २५ रन जोडे। रुबिनाको इनिङमा दुई चौका रह्यो। डलीले भने एक चौका र दुई छक्का हिर्काइन्। नेपालले अतिरिक्त १० रन पाएको थियो।

मलेसियाको बलिङमा माहिराले दुई विकेट लिँदा कप्तान विनिफ्रेडको नाममा एक विकेट रह्यो। यी दुईसँगै आइना हामिजाहले किफायती बलिङ गर्दै नेपालको इनिङलाई ठूलो स्कोर बनाउनबाट रोकिन्। समान चार ओभरमा माहिराले १० रन, आइनाले एक मेडनसहित ११ रन र विनिफ्रेडले १७ रन मात्र दिए।

अर्को सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) ले थाइल्यान्डमाथि चार रनको रोमाञ्चक जित निकाल्दै उपाधियात्रा तय गर्‍यो। मलेसियाले आगामी एसिया कपमा समूह ‘बी’ मा बंगलादेश र श्रीलंका तथा युएईले समूह ‘ए’ मा पाकिस्तान र भारतजस्ता बलिया टोलीसँग खेल्न पाउनेछ।  

प्रकाशित: ५ फाल्गुन २०८० ०८:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App