२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

बुटवल मेयर कपको उपाधि अक्सफोर्डलाई

बुटवल उपमहानगरले आयोजना गरेको विद्यालय स्तरीय प्रथम बुटवल मेयर कप फुटबलको उपाधि अक्सफोर्ड माविले जितेको छ।

देविनगर स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा आज (सोमबार) भएको फाइनल खेलमा नवीन औद्योगिक माविलाई १–० गोल अन्तरले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो।

उपाधि विजेता अक्सफोर्डले १ लाख नगद पुरस्कार सहित शिल्ड प्राप्त गर्‍यो। उपविजेता नवीन औद्योगिक माविले ६० हजार नगद पुरस्कार पायो।

सेमिफाइनलमा पुग्ने उजिरसिंह मावि र एभरेष्ट माविले जनही १८/१८ हजार नगद पुरस्कार प्राप्त गरे। प्रतियोगितामा उत्कृष्ट खेलाडी अक्सफोर्ड माविका टिम क्याप्टेन सुजलमान घलेले भए। उनले १५ हजार नगद पुरस्कार पाए।

त्यस्तै उत्कृष्ट गोलकिपर अक्सफोर्डकै डेभिड थापा, उत्कृष्ट मिडफिल्डर अक्सफोर्डकै रमित नाम्जाली मगर र सर्वाधिक गोलकर्ता अक्सफोर्डकै अस्मित शर्माले प्राप्त गरी पुरस्कृत भए।

त्यस्तै उत्कृष्ट डिफेन्डर नवीन औद्योगिक माविका सन्दीप दर्जी र उत्कृष्ट फरवार्ड नवीनकै विजन सूर्यवंशीले प्राप्त गरे। उनीहरुले ८ हजार नगद पुरस्कार पाए। प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई जनही १५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरियो।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवलमा फुटबलका खेलाडी उत्पादनका लागि पहिलो पटक आयोजना गरिएको विद्यालय स्तरीय फुटबल प्रतियोगिताले उत्साह बढाएको बताए।

प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिँदै थप अन्य विद्याका खेलकुद प्रतियोगिताहरू पनि गरिने उनले बताए। नगरप्रमुख पाण्डेयले विद्यालयहरूलाई हरेक क्षेत्रमा अब्बल बनाउन खेलकुद र अन्य विभिन्न खालका प्रतियोगिता र क्षमता विकासका कार्यक्रम समेटिएको बताए।

प्रतियोगितामा नगरका सामुदायिक तर्फका १५ र संस्थागततर्फका १३ गरी २८ वटा विद्यालयका टिम सहभागी भएको नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बताए। प्रतियोगितामा २० वर्ष ननाघेका विद्यार्थीहरुको मात्रै सहभागिता रहेको उनले जानकारी दिए।

प्रकाशित: २९ माघ २०८० १९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App