२ असार २०८१ आइतबार
image/svg+xml
खेल

अनिल र भीमको शतक, क्यानडाविरुद्धको सिरिज ‘क्लिनस्वीप’

ओपनर अनिलकुमार साह र तेस्रो नम्बरमा आएका ब्याटर भीम सार्कीले रेकर्ड साझेदारीसँगै शतक प्रहार गरेपछि क्यानडाविरुद्धको अन्तिम अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालले सहज जित निकालेको छ।

२३३ रन पछ्याएको नेपालले ४४ ओभर ३ बलमा एक विकेट मात्रै गुमाएर लक्ष्य पूरा गर्दै नौ विकेटको जित निकालेको हो।

योसँगै नेपालले क्यानडासँग तीन खेलको द्विपक्षीय अन्तर्राष्ट्रिय एक दिवसीय सिरिज क्लिनस्वीप गरेको छ।

नेपालले सहज जित निकाल्न अनिल र भीमको दोस्रो विकेटका लागि अविजित १८९ रनको रेकर्ड साझेदारी कारक बन्यो। जसमा दुबैले आफ्नो अन्तर्राष्ट्रिय एक दिवसीय (ओडिआई) करिअरमा पहिलो शतक पूरा गरे। अनिलले १२४ बलमा ११२ रन जोड्दा भिमले १२९ खेलेर १०१ रनको योगदान दिए। जसमा अनिलले १२ चौका, दुई छक्का र भीमले ११ चौका र एक छक्का प्रहार गरे।

नेपालले एक मात्र विकेट १४ रनको व्यक्तिगत योगदान दिएका कुशल भुर्तेलका रुपमा गुमाएको थियो। जुन क्यानडाका बलर डिलोङ हाइलिजरले लिए।

टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रनको मध्यम स्कोर खडा गरेको थियो। जसमा ओपनर नवनीत धलिवालले सर्वाधिक ५० रन, निखिल दत्ताले ४५ रन, कप्तान साद बिन जाफरले ३१ रन, हर्ष ठाकरले २९, श्रेयश मोभ्भाले २५ र श्रीमन्थ विजयरत्नेले २२ रन बनाएका थिए। 

क्यानडालाई मध्यम रनमा रोक्ने क्रममा नेपालका हेमन्त धामीले तीन विकेट, कुशल मल्लले २, ललित राजवंशी र आकाश चन्दले एक÷एक विकेट लिएका थिए।

यसअघि सिरिजका दुई खेल जितिसकेको नेपालले अन्तिम खेल जितेसँगै तीन खेलको सिरिज ‘क्लिनस्वीप’ भएको छ।

प्रकाशित: २९ माघ २०८० १६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App