१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

त्रिकोणात्मक सिरिजको पहिलो खेल नामिबियासँग

फाइल तस्बिर

नेपालले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ। उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन १५ गते हुने छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार सिरिजको खेल तालिका सार्वजनिक गरेको हो। डबल राउन्ड रोबिनका आधारमा हुने उक्त सिरिजमा नेपालले दोस्रो खेल फागुन १६ गते नेदरल्याण्ड्ससँग खेल्नेछ।

यसैगरी नेपालले लिग चरणको तेस्रो खेल फागुन १८ गते  नामिबियासँग तथा लिग चरणको अन्तिम खेल फागुन १९ गते नेदरल्यान्ड्ससँग खेल्ने तय भएको क्यानले जनाएको छ। फागुन २२ गते सिरिजको फाइनल खेल हुनेछ।

नेपालमा यसै सातादेखि सुरु हुने आइसिसी क्रिकेट विश्वकप लिग– २ खेल्न नामिबिया र नेदरल्यान्ड्सको क्रिकेट टोली नेपाल आउँदै छ। आइसिसी टी– २० विश्वकप, २०२४ का लागि छनोट भएको नेपालले प्रतियोगिताको तयारीका लागि लगातार दुईवटा सिरिज खेल्न लागेको हो। नेपालले अहिले क्यानडासँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको छ।

क्यानडासँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजलगत्तै नेपालले विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्ने छ। उक्त सिरिज आगामी फागुन ३ देखि १३ गतेसम्म चल्ने छ। लिग– २ त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा यसअघि नै भइसकेको छ।

उक्त टोलीको कप्तानमा रोहितकुमार पौडेल तथा अन्य खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल तथा वैकल्पिक खेलाडीमा प्रतिस जिसी, देव खनाल, अनिल शाह र विवेक यादव रहेका छन्। –रासस

प्रकाशित: २७ माघ २०८० ०८:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App