१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप लिग-२ को तयारी थाल्दै नेपाल

नेपालका प्रशिक्षक मोन्टी देसाई र कप्तान रोहित पौडेल (बायाँ) र क्यानडाका कप्तान साद बिन जफर र प्रशिक्षक पुबुदु दसानायके ट्रफीका साथ। तस्बिर: क्यान

आइसिसी क्रिकेट विश्वकप लिग–२ को तयारीस्वरूप नेपालले घरेलु मैदानमा बिहीबारदेखि क्यानडासँग एकदिवसीय क्रिकेट शृंखला खेल्दै छ।

यही लिग–२ सर्कलबाट पछिल्लो संस्करण सनसनी रूपमा विश्वकप छनोट खेलेको नेपाल यस पटक पनि यस छनोटयात्रा सुखद बनाउने योजनामा छ। सोही तयारीअनुरूप नेपालले क्यानडासँग तीन खेलको एकदिवसीय शृंखला खेल्न लागेको हो। तीन खेलको शृंखला बिहीबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ।

नेपालले घरेलु मैदानमा नै आइसिसी विश्वकप लिग–२ (२०२३/०२७) को पहिलो शृंखला खेल्दै छ। फेब्रुअरी १५ मा नामिबिया र नेदरल्यान्डसँग शृृंखला खेल्दै चार वर्षको यो सर्कलको यात्रा सुरु गर्नेछ।

नेपालले यसैको तयारीस्वरूप क्यानडासँग खेल्न लागेको हो। क्यानडाको प्रशिक्षकमा नेपालको पूर्वप्रशिक्षक पुबुदु दसाानायके छन्। उनकै प्रशिक्षणमा क्यानडाले पनि यो सर्कलको तयारी गर्दै छ।

उक्त तयारीका लागि नेपाल राम्रो टोली हुन सक्ने बुझाइसहित क्यानडा नेपाल भ्रमणमा आएको हो। नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले यु–१९ विश्वकपमा राम्रो प्रदर्शन गरेका आकाश चन्द र कप्तान देव खनाललाई यो शृंखलामा प्रयोग गरेका छन्। साथै उनले गत हप्ता सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा राम्रो प्रदर्शन गरेका खेलाडीलाई पनि क्यानडासँगको शृंखलामा टोलीमा समावेश गरे।

सोहीअनुरूप पवन सर्राफ, सूर्य तामाङ र अनिल साहलाई प्रशिक्षक मोन्टीले तीन खेलको शृंखलामा राखेका हुन्। नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले शृंखलाअगाडि बुधबार आयोजित पत्रकार सम्मेलनमा केही नयाँ खेलाडीका लागि क्यानडासँगको खेल अवसरसमेत हुने धारणा राखेका छन्। साथै उनले क्यानडाविरुद्ध आफ्नो टोली उत्कृष्ट क्रिकेट खेल्ने प्रयत्नमा रहने बताए।

नेपालले क्यानडासँग तीन खेलको शृंखला खेल्दै छ। नेपालका कप्तान रोहितले प्रधानमन्त्री कपमा व्यस्त भएकाले तयारी छोटो रहेको उल्लेख गर्दै पछिल्लो दुई दिनमा टोलीले केही योजनामा काम गरेको धारणा राखे।

‘हामीले शृंखलाकै लागि भनेर विशेष तयारी गर्न पाएनौं। दुई दिन मात्र अभ्यास गरेका छौं,’ कप्तान रोहितले भने, ‘त्यसअघि सियिनर खेलाडी प्रधानमन्त्री कपमा व्यस्त थियौं र जुनियर पनि भर्खरै विश्वकप खेलेर फर्किएका छन्।

प्रधानमन्त्री कपमा नै राम्रो एक्सपोजर मिल्यो। सबै जना फिट छन्। नियमित खेलिरहेको हुँदा टोली सेट छ। राम्रो नतिजा निकाल्ने प्रयास गर्नेछौं ।’ नेपालले दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल आगामी सोमबार खेल्ने तालिका छ। नेपाली क्रिकेट टोलीका प्रशिक्षक देसाईले विशेष तयारी नभए पनि क्यानडासँगको शृंखला रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने विश्वास व्यक्त गरेका छन्।

घरेलु प्रतिस्पर्धा प्रधानमन्त्री कप क्रिकेटबाट खेलेकाले टोली राम्रो रहेको उनको विश्वास छ। ‘प्रधानमन्त्री कप तीनवटा खेल मैदानमा खेल भयो। प्रतियोगिताले नयाँ खेलाडी दिएको छ,’ प्रशिक्षक मोन्टीले भने, ‘शृंखलाका लागि दुई दिन मात्र अभ्यास ग¥यौं। तर पनि शृंखला रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने विश्वास छ।’

केही नयाँ खेलाडी टोलीमा रहे पनि उनीहरू दुई दिनभित्र ह्याप्पी ड्रेसिङ रुममा घुलमिल भइसकेको प्रशिक्षक मोन्टीको भनाइ छ। क्यानडाका कप्तान साद बिन जफरले भने केही खेलाडी चोटका कारण टोलीमा समावेश हुन नसकेको स्पष्ट पारे।

क्यानडाले पनि आगामी मार्चदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा आइसिसी क्रिकेट विश्वकप लिग–२ को सुरुआत गर्दै छ। त्यसका लागि क्यानडा नेपाल आएको हो। यद्यपि, क्यानडामा अधिकांश खेलाडी छन्।

क्यानडाका कप्तान जफरले विश्वकप लिग–२ को तयारीका लागि नेपाल नै राम्रो स्थान र टोली रहेको उल्लेख गर्दै यो शृंखलामा राम्रो क्रिकेट खेल्ने धारणा राखे। अहिले टोली निर्माण प्रक्रियामा रहेकाले यो टोलीबाट धेरै आशा पनि राखेको उनको भनाइ छ।

 क्यानडाका प्रशिक्षक दसाानायकेले एक दशकअगाडि क्यानडा धेरै राम्रो टोली रहेको उल्लेख गर्दै पछिल्ला समय टोली राम्रो लयमा फर्किएको धारणा राखे। अहिले राम्रो टोली रहेकोले नै आइसिसी विश्वकप लिग–२ को सर्कलमा परेको उनको भनाइ छ। युएई जानुअघि आफ्नो टोलीले राम्रो तयारी गर्ने उनको लक्ष्य छ।

उनले नेपालसँग क्यानडाले धेरैभन्दा धेरै क्रिकेट खेल्न राम्रो सम्बन्ध स्थापना गर्नुपर्ने धारणा पनि राखे। पछिल्लो समय नेपाली क्रिकेटले धेरै प्रगति गरिरहेको र ती सबै खेल आफूले हेरेको पनि क्यानडाका प्रशिक्षक पुबुदुले खुलासा गरे।

पुबुदुको प्रशिक्षणमा सन् २०१४ मा नेपालले ट्वान्टी–२० विश्वकपसमेत खेलेको थियो। उनको करिब सातमहिने दोस्रो कार्यकाल भने सुखद रहेन। सम्झौताअवधि नसकिँदै उनी नेपालको जिम्मेवारी छाड्दै क्यानडाको प्रशिक्षण सम्हाल्ने पुगेका हुन्। यद्यपि, उनले नेपालसँग आफ्नो छुटै सम्बन्ध रहेको र यहाँ जुनसुकै जिम्मेवारीमा रहेर फर्किंदा खुसी लाग्ने धारणा राखे।

नेपाली क्रिकेट टोलीका कप्तान रोहितले क्यानडासँग खेलका लागि केही नयाँ खेलाडीका लागि अवसर हुने धारणा राखे। क्यानडासँगको खेलका लागि रोहितको कप्तानीमा कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ सेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललितनारायण राजवंशी, आकाश चन्द र अनिल साह छन्।  

प्रकाशित: २५ माघ २०८० ०६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App