१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

थ्रीस्टार हराउँदै एपिएफ सेमिफाइनलमा

बलका लागि भिड्दै एपिएफ र थ्रीस्टारका खेलाडी।

थ्रीस्टार क्लबलाई ४–० ले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। मंगलबार भएको एकपक्षीय खेलमा एपिएफले पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको हो।

आहा रारा गोल्डकपको उपविजेता थ्रीस्टारमाथि एपिएफले ४५ औँ मिनेटमा एनिसेटको गोलमार्फत अग्रता लिएको थियो। थ्रीस्टारका डिफेण्डर जीवन गुरुङले प्रदीप लामालाई लडाएपछि प्राप्त फ्रिकिकलाई सदुपयोग गर्दै एनिसेटले गोल गरेका थिए। उनको प्रहार पोष्टमा लाग्दै गोलमा परिणत भएको थियो। ४८ औँ मिनेटमा एपिएफका अनिष महर्जनले अग्रता दोब्बर बनाए। दायाँबाट आएको क्रसलाई उनले हेडमार्फत गोल गरेका हुन्। ५८ औँ मिनेटमा एपिएफले अर्को गोल थप्यो। प्रदीप लामाको प्रहार थ्रीस्टारका गोलरक्षक अभिषेक बरालको हातबाट फुत्किँदै गोलमा परिणत भएको हो। ७७ मिनेटमा एपिएफका विदेशी खेलाडी सर्ज संगले चौथो तथा अन्तिम गोल गरे। फोडे फोफोनाले मैदानको करिब मध्य भागबाट लगेको बललाई उनले गोल गरेका हुन्  खेलमा थ्रीस्टारले खासै मुभ बनाउन सकेन। ७९ औँ मिनेटमा थ्रीस्टारका दिपेश घलेले दुई डिफेण्डरलाई छलाउँदै गरेको प्रहारलाई एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले मुस्किलले जोगाए।

खेलको म्यान अफ द म्याच एपिएफका प्रदीप लामा घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। एपिएफका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो रणनीति अनुसार नै खेलाडीहरूले खेल खेलेको प्रतिक्रिया दिए। ‘पहिलो हाफमै २ गोलले लिड गर्ने योजना थियो’, उनले भने, ‘दोस्रो हाफ थप राम्रो भयो।’ यता थ्रीस्टारका प्रशिक्षक विक्रम लामाले राम्रै खेल हुँदाहुँदै हार व्यहोर्नुपरेको बताए। ‘खेल खासै नराम्रो पनि भएको होइन। हामीले नयाँ खेलाडीहरूलाई मौका दियौँ’, उनले भने, ‘अनुभवका लागि खेलिरहेका छौँ।’

यो सँगै जारी सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकपको छैटौँ संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ। बुधबारबाट सेमिफाइनल चरणको खेल हुनेछ। पहिलो सेमिफाइनल न्यूरोड टिम एनआरटी र राजारानी क्लब धनकुटाको बीचमा हुनेछ। २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजना तथा मकवानपुरका स्थानीय तह एवम् सामाजिक विकास मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद् लगायत संस्थाको सहयोगमा प्रतियोगिता भइरहेको हो। 

प्रकाशित: २३ माघ २०८० १९:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App