२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

साफ यु- १९ महिला च्याम्पियनसिप : नेपालको खराब सुरुआत

बंगलादेशकी उमेला मर्मासँगको भिडन्तमा हेड गर्ने प्रयास गर्दै नेपालकी सुक्रिया मिया। तस्बिर : एन्फा

उपाधि जित्ने लक्ष्य राखेको नेपालले शुक्रबार डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ३-१ को हारसँगै साफ यु- १९ महिला च्याम्पियनसिपको यात्रा सुरु गरेको छ।

बंगलादेशको ढाकास्थित मुस्तफा कमल स्टेडियममा नेपालले घरेलु टोलीसँग खेलमा फर्कन प्रयास गरे पनि सफल भएन। बंगलादेशले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्‍यो।

नेपालले दोस्रो हाफको सुरुआती चरणमा गोल गर्दै खेलमा फर्कन प्रयास गरे पनि सफल हुन सकेन। बंगलादेशका लागि सगोरिकाले दुई तथा मुन्की अख्तेरले एक गोल गरे। नेपालकी सुक्रिया मियाले गोल फर्काएकी थिइन्। खेलको ४०औं मिनेटमा सगोरिकाले गोल गर्दै अग्रता दिलाइन्। दुई मिनेट नबित्दै बंगलादेशले दोस्रो गोल गर्‍यो।

मुन्की अख्तरले गोल थप्दै बंगलादेशको अग्रता दोब्बर बनाइन्। पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले खेलमा अग्रता बढाउन अवसर पायो। नेपालकी डिफेन्डर सिमरन राईले पेनाल्टी क्षेत्रमा सगोरिकालाई लडाएपछि बंगलादेशले पेनाल्टी पाए पनि सदुपयोग गर्न सकेन।

बंगलादेशकी कप्तान अफैदा खान्दकरको पेनाल्टी दोस्रो बारमा लागेर फर्कियो। सोही बल नियन्त्रणमा लिँदै सगोरिकाले गरेको प्रहार भने नेपालकी गोलकिपर सुजाता तामाङले सहजै नियन्त्रणमा लिइन्। त्यससँगै पहिलो हाफमा बंगलादेश २–० ले अगाडि रह्यो।

५४औं मिनेटमा सुक्रियाको गोलबाट नेपालमा खेलमा फर्कने प्रयास गर्‍यो। कप्तान साराह वज्राचार्यले दिएको लामो क्रस नियन्त्रणमा लिँदै उनले बंगलादेशको गोलकिपर स्वर्णरानी मण्डल अगाडि बढेको अवस्थामा गोल गरिन्। तर, तीन मिनेटपछि नै सगोरिकाले दोस्रो गोल गर्दै बंगलादेशको अग्रता बढाइन्।

नेपालकी कप्तान साराहबाट बल खोस्दै बंगलादेशले काउन्टर अट्याकमार्फत तेस्रो गोल गरेको हो। त्यसपछि बाँकी समयमा दुवैतर्फबाट प्रयास भए पनि थप गोल हुन सकेन र नेपाल घरेलु टोलीसँग ३-१ ले स्तब्ध भयो।

शुक्रबार नै भएको पहिलो खेलमा भारतले भुटानमाथि १०-० को गोल वर्षा गर्‍यो। नेपालले दोस्रो खेल माघ २१ गते भुटानसँग र माघ २३ गते भारतविरुद्ध चुनौती प्रस्तुत गर्नेछ।

यस संस्करणको साफ यु- १९ महिला च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, भारत र भुटानले मात्र प्रतिस्पर्धा गर्दै छन्। राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

प्रकाशित: २० माघ २०८० ०६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App