२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

राखेपको ‘मिसन २०२६’ सुरु

अन्तर्राष्ट्रिय प्रतियोगितामा सुखद नतिजा ल्याउने उद्देश्य लिँदै नेपाली खेलकुदमा पहिलो पटक लामो तयारी गरिने भएको छ।

नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ‘मिसन २०२६’ नाम दिँदै दीर्घकालीन प्रशिक्षण कार्यक्रमको पहिलो पटक सुरुआत गरेको हो। राखेपले जापानमा हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक हासिल गर्ने लक्ष्य तथा आसन्न ओलम्पिक खेलकुद, इन्डोर एसियन गेम्स र साग गेम्सलाई समेत मध्यनजर गर्दै राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सोमबारदेखि सुरु गर्ने भएको छ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले नियमित राष्ट्रिय टिम तयारीको प्रशिक्षण र व्यापक अन्तर्राष्ट्रिय सहभागितालाई उच्च प्राथमिकता दिएर पहिलो चरणमा पाँच खेलको तयारी प्रशिक्षण थालिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

 सदस्यसचिव घिसिङले विगतको समग्र नतिजा र उपलब्धिलाई मध्यनजर गरी पहिलो चरणमा तेक्वान्दो, कराते, उसु, बक्सिङ र जुडोको तयारी प्रशिक्षण सुरु गर्न लागिएको बताएका छन्। साथै उनले अन्य खेलको पनि तयारी गरिने विश्वास व्यक्त गरे।

उनले पाँचौं एसियाली पारा खेलकुदको पनि तयारी सुरु गर्ने बताए। राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले प्रशिक्षणको अवधिमा खेलाडीको फिटनेस परीक्षण, स्ट्रेन्थ पावर ट्रेनिङ, डाइट एन्ड न्युट्रिसन कक्षा, उत्प्रेरणात्मक तथा खेल विज्ञान कक्षा, योग कक्षा, स्वास्थ्य परीक्षण, डोपिङसम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि हुने जानकारी गराए।

विशेष प्रशिक्षणमा रहेका पाँच खेलमा २९ पुरुष र २१ महिला खेलाडी छन्। प्रत्येक खेलका लागि समान दुई गरी १० प्रशिक्षक खटिनेछन्। कुनै पनि एसियाली खेलकुद सम्पन्न भएको छोटो समयमा अगामी संस्करणका लागि राखेपले तयारी थालेको यो पहिलो पटक हो।

प्रकाशित: १५ माघ २०८० ०१:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App