२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

टाइगर कप भलिबल प्रतियोगिता शुरु,पहिलो दिन एपीएफको दोहोरो जीत

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे। तस्बिर ः उमेश पुन

पोखरामा आज सोमबारदेखि टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८० शुरु भएको छ।

टाईगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा प्रतियोगिता शुरु भएको हो।

प्रतियोगिताको पहिलो दिन सशस्त्र प्रहरीको एपीएफ क्लवले दोहोरो जीत निकालेको छ। एपीएफले पुरुष तथा महिलातर्फको दुबै खेलमा नेपाल पुलिस क्लवलाई पराजित गर्दै दोहोरो जीत निकालेको हो।

प्रतियोगिता अन्तर्गत भएको पुरुषतर्फको खेलमा एपीएफले नेपाल पुलिस क्लवलाई सोझो सेटमा हरायो। ३४ औं राष्ट्रिय भलिबल खेल प्रतियोगिताको फाईनलमा पराजित हुँदै पुलिसलाई उपाधि सुम्पिएको एपीएफले एक सातापनि नबित्दै पोखरामा आज सोमबार भएको खेलमा पुलिसलाई हराउँदै हारको बदला लिएको छ।

प्रतिष्पर्धात्मक खेलमा एपीएफले पुलिसलाई २५–१९, ३३–३१ र २५–१७ ले पछि पार्दै जित निकालेको हो।जितसँगै एपीएफले महत्वपूर्ण ३ अंक जोडेको छ भने पुलिस अंकविहीन् बनेको छ।

आज सोमबार नै भएको महिलातर्फको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बिजयी शुरुवात गरेको छ। एपीएफले नेपाल पुलिस क्लवलाई ३–२ को सेटमा पराजित गर्दै बिजयी शुरुवात गरेको हो।

प्रतिष्पर्धात्मक खेलमा एपीएफले पहिलो र दोश्रो सेट समान २५–१८, २५–१८ ले जितेको थियो। त्यसपछि लय गुमाएको एपीएफमाथि पुलिस हाबी भयो। खेलाडी बीचको समन्वय नभएको फाईदा उठाउँदै पुलिसले एपीएफलाई २५–१९ र २५–१८ ले लगातार दुई सेटमा पराजित गर्दै बराबरी गर्‍यो।

तर अन्तिम तथा निर्णायक सेटमा पुनः एपीएफले खेलमा पुनरागमन गर्दै जित निकाल्यो। एपीएफले पाँचौं सेटमा पुलिसलाई १५–१३ ले पछि पार्दै जित सुनिश्चित गरेको हो।जितसँगै एपीएफले २ अंक जोडेको छ भने पराजित पुलिसले १ अंक प्राप्त गरेको छ।

महिलातर्फको दोश्रो खेलमा चन्द्रागिरी न्यू–डायमण्ड क्लबले नेपाली सेनाको त्रिभूवन आर्मी क्लवलाई ३–१ को सेटमा पराजित गर्दै सुखद शुरुवात गरेको छ। न्यू–डायमण्डले आर्मीलाई २५–२०, २५–१७, २३–२५ र २५–१५ ले पछि पार्दै जित सुनिश्चित गरेको हो।

जितसँगै न्यू–डायमण्डले महत्वपूर्ण २ अंक प्राप्त गर्दा आर्मी १ अंकमा चित्त बुझाउन बाध्य भयो।

यसअघि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए। कार्यक्रममा बोल्दै उनले गण्डकीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान, कभर्ड हल निर्माणको योजनामा गण्डकी सरकार रहेको बताए।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले भलिबल खेल बिकासका लागि इन्डोर कभर्ड हल आवश्यक रहेको भन्दै सो निर्माणका लागि सरोकारवालाहरुको ध्यानाकर्षण गराए।

चौथो संस्करणको टाईगर कपमा पुरुषतर्फ तीन बिभागिय टोली नेपाली सेनाको त्रिभूवन आर्मी क्लब, नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपीएफ क्लबसहित आयोजक गण्डकी प्रदेश भलिबल संघ, हेल्प नेपाल स्पोर्टस क्लब र श्रीलंकाको आर्मी टिम सहभागी छन्।

त्यस्तै, महिलातर्फ तीन बिभागीय टोली नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभूवन आर्मी क्लब र शसस्त्र प्रहरीको एपीएफ क्लबसँगै चन्द्रागिरी नगरपालिका न्यू–डायमण्ड स्पोर्टस क्लव, आयोजक गण्डकी प्रदेश र भारतको हरियाणा राज्यको महिला पुलिस क्लब सहभागी छन्।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५, उपबिजेताले २ लाख ५५ हजार ५ सय ५५ र तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ। उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५/२५ हजार र अन्य विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई १५ हजार बराबरको एक्सटेप कम्पनीको जुत्ता प्रदान गरिने टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए।

प्रकाशित: १ माघ २०८० १५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App