४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

दोलखा चेस होमलाई सफलता

दोलखा चेस होम नेपाल शनिबार छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम बुद्धिचाल प्रतियोगितामा च्याम्पियन बनेको छ।

दोलखा चेस होमले शनिबारको फाइनलमा भक्तपुर जिल्ला बुद्धिचाल संघलाई हराउँदै उपाधि उचालेको हो। नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा दोलखाले भक्तपुरलाई ३.५ र ०.५ ले हरायो।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको हलमा दोलखाका नेपाल च्याम्पियन रूपेस जैसवालले युवा खेलाडी पुरुषोत्तम सिलवाललाई हराए। दोलखाकै सुश्रुत दाहालले भने भक्तपुरका विकास चोकामीसँग बराबरी खेले। तर, दोलखाका मुहान नरसिंह श्रेष्ठ र सुजना लोहनीले क्रमशः भक्तपुरका स्वर्णिम दुवाल र अभिक शाहलाई हराउँदै उपाधि सुरक्षित गरे।

शनिबार नै भएको अर्को खेलमा मकवानपुर जिल्ला चेस संघलाई २.५-१.५ ले हराउँदै कोसी प्रदेश प्रतियोगितामा तेस्रो भयो। उपाधिसँगै दोलखाले ट्रफी र दुई लाख, उपविजेता भक्तपुरले एक लाख २० हजार, तेस्रो स्थानको कोसीले ६० हजार र चौथो भएको मकवानपुरले ४० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

प्रत्येक बोर्डमा पहिलो हुने चार जना खेलाडीलाई जनही १० हजार पुरस्कार प्रदान गरिएको छ। राष्ट्रियस्तरका उत्कृष्ट १९ क्लबले प्रतिस्पर्धा गरेको प्रतियोगिताको पुरस्कार राशि चार लाख ७० हजार रूपैयाँ रहेको थियो।

प्रकाशित: २९ पुस २०८० ०१:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App