२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

राष्ट्रिय पुरुष भलिबल: कर्णालीको पहिलो जित

घरेलु टोली कर्णाली प्रदेशले वीरेन्द्रनगरमा जारी राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। शनिबार भएको आफ्नो दोस्रो खेलमा कर्णालीले मधेस प्रदेशलाई तीन शून्यको सेटमा हराएको हो। यससँगै कर्णालीले तीन अंक जोडेको छ।

पहिलो सेट २५-२० ले जितेको कर्णालीले दोस्रो सेट २५-२१ र तेस्रो सेट २५-१७ ले जितेको हो। कर्णाली पहिलो खेलमा विभागीय टोली आर्मीसँग ३-० को सोझो सेटमा पराजित भएको थियो भने मधेसले सुदूरपश्चिम प्रदेशलाई ३-२ को सेटमा हराएको थियो।

यस्तै गण्डकी प्रदेश सुदूरपश्चिमलाई ४-१ को सेटमा हराउँदै तीन अंक जोड्न सफल भएको छ। गण्डकीले लगातार दुई सेट जित्दा तेस्रो सेट सुदूरपश्चिमले जितेको थियो। सुदूरले चौथो सेट गुमाएपछि गण्डकी तीन अंक जोड्न सफल भयो।

शनिबार नै कोशीले बागमतीलाई र नेपाल पुलिस क्लबले लुम्बिनीलाई समान ३-० को सेटमा हराएका छन्। प्रतियोगितामा दुई-दुई खेल खेलेका कर्णाली, लुम्बिनी र मधेसले एक–एक खेलमा जित निकाल्दा एक-एक खेल हारेका छन् भने बागमती र सुदूरपश्चिमले लगातार दुई खेल हारेका छन्।

यस्तै गण्डकी प्रदेशका साथै तीनवटा विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ र त्रिभुवन आर्मी क्लबले शतप्रतिशत नतिजा निकालेका छन्।

आइतबार चार खेल

प्रतियोगितामा आइतबार तेस्रो दिन चारवटा खेल हुने छन्। बिहान साढे आठ बजे हुने पहिलो खेलमा बागमतीले विभागीय टोली नेपाल पुलिसको सामना गर्नेछ। 

दोस्रो खेलमा गण्डकी र मधेस प्रदेश भिड्ने छन् भने तेस्रो खेलमा विभागीय टोली एपिएफ र लुम्बिनी भिड्ने छन्। चौथो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्ने छ।

तीन विभागीय र सात प्रदेश गरी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफका साथै लुम्बिनी, कोशी, बागमती  प्रदेश छन् भने समूह ‘बी’ मा कर्णाली, सुदूरपश्चिम, गण्डकी र मधेस प्रदेशका साथै विभागीय टोली नेपाल आर्मी क्लब रहेका छन्।

प्रकाशित: २१ पुस २०८० १३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App