१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप महिला क्रिकेटमा कोसी लगातार तेस्रो पटक असफल, ज्योतिको सन्यास

कोसी प्रदेश आज एपिएफसँग पराजित भएपछि लगातार तेस्रो पटक प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न असफल भएको छ।

कोसीले आज सम्पन्न फाइनलमा एपिएफसँग ११ रनको हार व्यहोरेपछि लगातार तेस्रो पटक उपाधि भिडन्तमा असफलता सामना गर्नुपरेको हो। कप्तान रुविना क्षेत्रीको अर्धशतक र अप्सरी बेगमको ह्याट्रिक लिएपनि कोसीको हार टरेन। २०७७ सालमा पहिलोपटक यो प्रतियोगिताको उपाधि उचालेको कोसीले त्यस पछिका तीन वटा फाइनल खेले पनि उपाधिविहीन बन्नुप¥यो। यता, एपिएफले भने हालसम्म ८ वटा फाइनल खेल्दा ६ पटक उपाधिमा आफ्नो नाम लेखायो। राष्ट्रिय टोलीका र अनुभवी खेलाडीले भरिएको एपिएफ आज पनि कोशी प्रदेशमाथि जित निकाल्दै एक मात्र अपराजित टोलीका रूपमा उपाधि उचाल्न सफल भयो।

उपाधिसँगै एपिएफले पाँच लाख रुपैयाँ पाउँदा उपविजेता कोसीले तीन लाख रुपैयाँमा चित्त बुझायो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा एपिएफले दिएको एक सय १५ रनको लक्ष्य कोशीले धैर्यतापूर्वक ब्याटिङ गरे पनि जित निकाल्न सकेन। कोशीले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि चार विकेटको क्षतिमा एक सय ३ रन मात्र बनाउन सक्यो। कोसीकी कप्तान रुविना क्षेत्रीले ६२ रनको अर्धशतकीय योगदान दिएपनि जित दिलाउन भने सकिनन्। उनले ५८ बलमा सात चौका र एक छक्का हिर्काइन्।

काजल श्रेष्ठले २९ बल खेल्दा एक मात्र चौकासहित २२ रन बनाइन्। रुविना र काजलले दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरे। आशा गरिएका ब्याटर तथा ओपनर अप्सरी बेगम र लकिता राजवंशी लामो समयमा क्रिज रहे पनि रन जोड्न असफल हुँदा एपिएफका लागि जित सहज बन्यो।अप्सरी २० बल खेल्दा ८ रनमा रनआउट भइन् भने लकिताले १० बलमा ६ रन मात्र जोडिन्। एपिएफका लागि करुणा भण्डारी र कप्तान सीता रानामगरले समान एक विकेट लिए। एपिएफले कोशीको थप दुई विकेट रनआउटका रूपमा पाएको हो।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १४ रन जोडेको थियो। एपिएफकी इन्दु बर्माले सर्वाधिक ५३ रनको योगदान गरिन्। ४७ बलमा ६ चौका र एक छक्का प्रहार गरिन्। उनी म्यान अफ दी म्याचसमेत भइन्। ओपनर ज्योति पाण्डेले २७ र रोमा थापाले १४ रनबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेन। यद्यपि, बलिङमा साथ पाएपछि एपिएफले मध्यम लक्ष्य पनि रक्षा ग¥यो। कोसीको बलिङमा अप्सरीले चार ओभरमा रन २१ खर्चिदै तीन विकेट लिइन्।

उनले डेथ ओभरको पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थपा र तेस्रो बलमा सोनु खड्कालाई आउट गर्दै ह्याट्रिक पूरा गरिन्। एलिशा खडियाले दुई तथा रुविना क्षेत्री र निशा शाहले समान एक विकेट लिए। कोशीकी मध्यम गतिकी बलर सबनम राईले तीन ओभरमा १४ रन मात्र दिएपनि विकेटविहीन भइन्। प्रतियोगितामा कोशीकी कप्तान रुविना क्षेत्री प्लेयर अफ दी सिरिज घोषित भइन्। त्यसबापत उनले स्कुटर प्राप्त गरिन्। उदीयमान खेलाडी गण्डकीकी जोत्स्निका मरासिनी, उत्कृष्ट बलर मधेसकी पूजा महतो र उत्कृष्ट ब्याटर गण्डकीकै सुमन खतिवडा घोषित भए।

उत्कृष्ट बलर र ब्याटरले समान ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। उदीयमान खेलाडीले भने क्रिकेट सामग्री पाइन्। पहिलोपटक राउण्ड रोविनका आधारमा भएको प्रतियोगितामा एक विभाग र सात प्रदेशका टोलीले प्रतिष्पर्धा गरेका थिए।

ज्योतिद्वारा सन्यास घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टोलीकी पूर्वसदस्य ज्योति पाण्डेले प्रतियोगिता समापनसँगै सन्यास घोषणा गरेकी छन्।राष्ट्रिय टोलीबाट खेलेर सन्यास घोषणा गर्ने योजना भएपनि सम्भव नभएपछि पछिल्लो १२ वर्षदेखि खेल्दै आएको एपिएफ क्लवले उपाधि जितेपछि क्रिकेटबाट बिदा लिएकी छिन्।

 यो खेल आफ्नो क्रिकेट करियरकै अन्तिम भएकाले आजको खेल शुरु हुनुभन्दा अगाडिदेखि केही कठिन रहेको बताइन्। आफ्नै बुबा क्रिकेट प्रशिक्षक भएकाले पनि क्रिकेट खेल्न शुरु गरेको उल्लेख गर्दै ज्योतिले विश्वकप खेल्न नपाउनु अपुरो सपना रहेको बताएकी छिन्।करिव १५ वर्ष क्रिकेटमा बिताएकाले क्रिकेट छोड्न कठिन भएको उनले उल्लेख गरिन्।    

प्रकाशित: १८ पुस २०८० १२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App