२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सन्दीपविरूद्धको मुद्दामा आज पनि बहस गर्दैछन् वकिलहरू

क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ। बिहीवार लामिछाने पक्षका वकिलहरूको बहस नसकिएकाले आज पनि सुनुवाइ जारी रहने छ।

यसअघि बिहीवार लामिछाने पक्षका वकिलहरूको बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले मुद्दा हेर्दाहेर्दैमा राखेका थिए।

लामिछानेका वकिलहरू अधिवक्ता मुरारी सापकोटा, रोशनी पौडेल, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सविता भण्डारी र रमण श्रेष्ठले बहस गरेका थिए।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्दागर्दै कार्यालय समय सकिएपछि न्यायाधीश ढकालले बहस सारेका थिए।

आज लामिछानेका वकिलहरूको बहस सकिएपछि सरकारी वकिल र जाहेरवालाका वकिलले जवाफी बहस गर्नेछन्। दुवै पक्षको बहस सकिएपछि यो मुद्दामा न्यायाधीशले फैसला सुनाउने छन्।

आइतबारदेखि अन्तिम सुनुवाइका लागि पेसी चढेकोमा बहस हुँदै आइरहेको उक्त मुद्दा हिजो पनि हेर्दाहेर्दैमा परेको थियो।

यसअघि मंसिर २४ गते न्यायाधीश पदम पाण्डेको इजलासमा पेसी तोकिए पनि सन्दीप लामिछाने पक्षका वकिलहरूले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो।

बलात्कार भएको हो कि होइन भन्ने विवाद भएको यो मुद्दामा धेरैजसो न्यायाधीशले बालिकाको जन्म मितिसम्बन्धी कागज मगाउने मात्रै आदेश दिएर मुद्दा पन्छाउँदै आएका थिए। साउन ३२ मा न्यायाधीश राजुकुमार खतिवडाले पीडितकी आमाको जन्म मितिसमेत यकिन गर्ने आदेश दिएका थिए।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

प्रकाशित: १३ पुस २०८० ०२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App