२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट: अपराजित एपिएफ प्लेअफमा

अर्धशतक बनाएपछि एपिएफकी राजमती ऐरी। तस्बिर : क्यान

अपराजित टोली एपिएफले बुधबार जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्लेअफमा स्थान बनाउँदा कोसी र सुदूरपश्चिम प्रदेशले पनि सम्भावना बलियो बनाएका छन्।

पहिलो पटक राउन्ड रोबिनको आधारमा जारी प्रतियोगितामा एक विभाग र सात प्रदेशमध्ये शीर्ष चारका टोलीले प्लेअफमा स्थान बनाउनेछन्। बुधबार पाँच खेल सकिँदा अपराजित सशस्त्र प्रहरी बलको एपिएफले दुई खेलअगावै प्लेअफमा स्थान बनाएको हो।

समान खेलबाट कोसी र सुदूरपश्चिम प्रदेशले चार खेल जित्दै प्लेअफको सम्भावना बलियो बनाएका छन्। यी दुवै टोलीले एपिएफसँग हार बेहोरेका थिए। बिहीबार सुदूरपश्चिम र कोसीले एकअर्काविरुद्ध चुनौती प्रस्तुत गर्दै छन्। यो खेलमा जित निकाल्ने टोलीले प्लेअफसँर्ग शीर्ष दुई स्थानका लागि पनि बलियो दाबेदारी प्रस्तुत गर्नेछ।

समान पाँच खेलबाट कोसी र सुदूरपश्चिमको समान आठ अंक छ। एपिएफ र बाग्मतीले बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जित निकाल्दा मूलपानी क्रिकेट मैदानमा पनि कोसी र सुदूरपश्चिमले सफलता प्राप्त गरे।

ओपनर चम्किएपछि एपिएफले कर्णाली प्रदेशमाथि ९२ रनको रबाफिलो जित निकाल्यो र दुई खेलअगावै प्लअ‍ेफमा पुग्यो। ओपनरद्वय राजमती ऐरी र ममता चौधरीको ११७ रनको शतकीय साझेदारीमा एपिएफले सहज जित निकाल्यो। समान पाँच खेलमा कर्णाली भने जितविहीन छ।

एपिएफले निर्धारित २० ओभरमा मात्र दुई विकेट गुमाउँदै एक सय ६१ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत ग¥यो। जबाफी ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभर नै खेले पनि आठ विकेटको क्षतिमा ६८ रन मात्र जोड्न सक्यो। कर्णालीकी ओपनर तथा कप्तान किरण कुँवर १ रनमै पवेलियन फर्किइन्।

अर्की ओपर त्रिसनाको १९ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। शीर्ष क्रमका ब्याटर सहजै पवेलियन फर्किंदा गौरी बोहोराले १२ रन र रश्मि खड्काले १० रनको योगदान दिए पनि कर्णालीको हार टार्न सकेनन्। एपिएफका बलर करुणा भण्डारीले चार ओभरमा एक मेडन राख्दै मात्र १३ रन खर्चदै चार विकेट लिइन्।

सुमन विष्टले दुई तथा विनु मगर र सीता रानामगरले समान एक विकेट लिँदै कर्णालीको इनिङ धराशयी बनाए। त्यसअघि एपिएफको ब्याटिङमा ममता र राजमतीले अर्धशतक बनाए। ममता ६२ रनमा रनआउट भइन्। उनी १५.६ ओभरमा पहिलो विकेटका रूपमा पवेलियन फर्किइन्।

उनको इनिङमा आठ चौका रह्यो। त्यसपछि राजमतीले इनिङ समाल्दै ६७ रनको योगदान दिइन्। अन्तिम ओभरको चौथो बलमा त्रिसना विश्वकर्माद्वारा बोल्ड हुनुअघि राजमतीले ५५ बलमा ९ चौका र दुई छक्का प्रहार गरिन्। रोमा थापाले ९ बलमा १३ रन जोड्दै राजमतीलाई साथ दिइन्।

मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशमाथि ५५ रनको जितसहित कोसी प्रदेशले चौथो सफलता निकाल्यो। गण्डकी पाँच खेलबाट दुई अंकका साथ छैटौं स्थानमा छ। कोसीले दिएको एक सय चार रनको लक्ष्य पछ्याएको गण्डकी १५ ओभरमा ४८ रनमै समेटियो।

गण्डकीकी सुमन खतिवडाले २१ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। कोसीकी कप्तान रुबिना क्षेत्रीले तीन, संगीता राई र एलिसा खडियाले समान दुई तथा अप्सरी बेगमले एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको कोसीले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै एक सय ३ रनको योगफल बनायो।

खराब सुरुआत गरेको कोसीका शीर्ष तीन ब्याटर कप्तान रुबिना ४ रन, काजल श्रेष्ठ ६ रन र अप्सरी बेगम १ रनमै पवेलियन फर्किए। तर, त्यसपछिका ब्याटर विमला मलाहाले २५, संगीता राईले अविजित २३ रन र लकिता राजवंशीले २२ रन जोड्दै कोसीलाई सामान्य योगफलतर्फ अग्रसर गराए।

गण्डकीका कुसुम गोदार र सृष्टि जैसीले समान दुई तथा रचना चौधरी, सुमन खतिवडा र आकृति तिवारीले समान एक विकेट लिए। मूलपानीमै भएको अर्को खेलमा सुदूरपश्चिमले मधेस प्रदेशमाथि पाँच विकेटको संघर्षपूर्ण जित निकाल्यो।

मधेसले दिएको ८३ रनको लक्ष्य सुदूरपश्चिमले २०औं ओभरको अन्तिम बल बाँकी छँदा पाँच विकेट गुमाएर पूरा ग¥यो। कीर्तिपुरमा बाग्मतीले पनि लुम्बिनी प्रदेशमाथि ९ रनको साँघुरो जित दर्ता गर्दै प्लेअफको दाबेदारी जारी राख्यो।

बाग्मतीले दिएको एक सय १० रनको लक्ष्य लुम्बिनीले २०औं ओभर नै खेले पनि आठ विकेटको क्षतिमा एक सय रन मात्र जोड्न सक्यो। यससँगै बाग्मती पाँच खेलबाट तीन जित र दुई हारसँगै ६ अंकका चौथो स्थानमा छ। बाग्मतीले शीर्ष चारको दाबेदार लुम्बिनीलाई नै हराएको हो। लुम्बिनीे पाँच खेलबाट दुई जित, तीन हारसँगै चार अंकसहित पाँचौं स्थानमा छ।

प्रकाशित: १२ पुस २०८० ००:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App