१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

गेटवे एकेडेमीलाई फेका कप उपाधि

गेटवे एकेडेमीले आइतबार १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरूको संगठन (फेका) द्वारा आयोजित प्रतियोगितामा गेटवे पहिलो पटक उपाधि जित्दै फेका कपको नयाँ च्याम्पियन बनेको हो। फाइनलमा गेटवेले पूर्वविजेता न्यु स्टार पोललाई १–० को झीनो गोलअन्तरले पराजित गर्‍यो।

गेटवेका प्रतीक रायमाझीले निर्णायक गोल गरे। प्रतीक नै फाइनलको ‘म्यान अफ दी म्याच’ घोषित भए। मूलपानीमा तेस्रो स्थानका लागि भएको खेलमा अक्षरिकाले हाइली क्रिएटिभलाई २–१ ले हरायो। अक्षरिकाका निसान थापा ‘म्यान अफ दी म्याच’ चुनिए।

शीर्ष स्थानका तीन टोलीले क्रमशः ४० हजार, २० हजार, १० हजार र पाँच हजार नगद पुरस्कार हात पारे। प्रतियोगिताले १६औं संस्करण पार गर्दा कोटदेवी, करियर बिल्डिङ इन्टरनेसनल एकेडेमी र गोठाटारले समान तीन पटक उपाधि जितेका छन्।

न्यु स्टार पोल, कस्मिक इन्टरनेसनल एकेडेमी, ओरियन्टल एकेडेमी, ग्रिनविच एकेडेमी, नेक्सस इन्टरनेसनल एकेडेमी र कौस्तुभ समान एक पटक च्याम्पियन बनेका छन्। गेटवेका लक्ष्मण उप्रेतीले दोहोरो व्यक्तिगत उत्कृष्ट खेलाडीको उपाधि जिते। लक्ष्मण प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसंगै सर्वाधिक गोलकर्ता पनि बने। प्रतियोगिताभर लक्ष्मणले सात गोल गरे।

हाइली क्रिएटिभका रिसुक स्थापित उदीयमान खेलाडी घोषित भए। डिफेन्डरमा न्यु स्टारका दीप बोगटी, मिडफिल्डरमा अक्षरिकाका रविन मगर, गोलरक्षकमा न्यु स्टारका सोमित मण्डल र प्रशिक्षकमा गेटवेका सरिन नापित उत्कृष्ट चुनिए।

विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगाना, उपाध्यक्ष कृष्ण अधिकारी, प्रमुख सल्लाहकार टीकाराम पुरी, फेकाका अध्यक्ष श्रीराम दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। सो अवसरमा फेकाका सहसचिव समेत रहेका प्रतियोगिता संयोजक राजु दाहाललाई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न अहम भूमिका निर्वाह गरेकोमा प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। मंसिर २१ गतेदेखि सुरु प्रतियोगितामा २४ टोलीले नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २ पुस २०८० ००:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App