२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

चितवनले शीर्ष चारभित्र प्रवेश गर्ने अवसर गुमायो

तस्बिर :नेपाल सुपर लिग फेसबुक पेजबाट।

इन्जुरी समयमा अग्रता जोगाउन नसक्दा एफसी चितवनले जारी नेपाल सुपर लिग(एनएसल) को दोस्रो सिजनमा बिहीबार शीर्ष चारभित्र प्रवेश गर्ने अवसर गुमाएको छ।

बुटवल युनाइटेड विरुद्ध सुरुआती अग्रता लिएको एफसी चितवनले इन्जुरी समयमा गोल बेहोरेपछि १–१ को नतिजा सुम्पिन पुग्यो। दशरथ रंगशालामा यो बराबरीसँगै चितवन दोस्रो जितसँगै शीर्ष चारभित्र प्रवेश गर्न असफल भयो। चार खेलबाट चितवन एक जित, दुई बराबरी र एक हारसहित पाँच अंक सहित पाँचौँ स्थानमा यथावत् छ।यता, बुटवल भने चार खेलबाट एक जित, एक बराबरी र दुई हारसहित चार अंकका साथ छैटौँ स्थानमा यथावत् छ। त्यसअघि खेलको १९औं मिनेटमा पहिलो आक्रमण बन्यो।  

चितवनका अफ्रिई एक्वाले करिब ३२ यार्ड टाढाबाट हानेको फ्रिकिक बुटवलका मोहमोडुले रोके। लगत्तै बुटवलको काउन्टर प्रयासमा स्टेफन बिनोङको प्रहार गोलमा परिणत हुन सकेन। ४०औं मिनेटमा रफिक अमिनुले चितवनलाई अग्रता दिलाउने अवसर गुमाए। उत्सव राईले दिएको उत्कृष्ट पासमा पेनाल्टी क्षेत्रमा रहेका उनको प्रहार बारमाथि बाहिरिन पुग्यो। त्यसको दुई मिनेटपछि नै चितवनका विमल घर्तिमगरले बुटवलका गोलकिपर मोहमोडुसँग वान भर्सेस वानमा गोल गर्न सकेनन्।

अफ्रिईको ‘थ्रु बल’ अफसाइड बिट गर्दै नियन्त्रणमा लिएका विमल पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्न असफल रहे। त्यससँगै चितवनको दबाबमा रहेको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। ४८औं मिनेटमा बुटवलका मोहमोडुको गल्ती फाइदा उठाउँदै चितवनले अग्रता लियो। उनले गरेको गोल किक प्रहार नियन्त्रणमा लिँदै उत्सव राईले करिब २५ यार्ड टाढाबाट गरेको गोल गरे। उत्सवको प्रहार त्यति सशक्त नभए पनि मोहमोडुको सहज गोल खान पुगे। ५३औं बिनोङले लेफ्ट कर्नर साइडबाट गरेको प्रहार चितवनका गोलकिपर विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए।

बुटवलले ६३औं मिनेटमा खेलमा फर्किने प्रहार सदुपयोग गर्न सकेन। एरिक बिष्टको कर्नर पासमा बिनोङ नजिकैबाट गोल चुके। ७८औं मिनेटमा चितवनका टोरिक जेब्रिनको फितलो प्रहार बुटवलका गोलकिपर मोहमोडुले सहजै रोके।लगत्तै एरिकको प्रहार माथिल्लो बार हुँदै बाहिरियो। जिलेस्पीजंग कार्कीको पास सदुपयोग गर्दै करिब १७ यार्डबाट टाढाबाट उनले गरेको पोस्ट दिशा लिन सकेन। ८३औं मिनेटमा चितवनका गोलकिपर विशाल बिट भैसकेको अवस्थामा बिनोङ प्रहारले जाली चुम्न सकेन।  

बुटवलका लागि ८९औं मिनेटमा सेर्जी सोङले करिब २२ यार्ड टाढाबाट गरेको प्रहार दोस्रो बार हुँदै बाहिरिन पुग्यो।तर, इन्जुरी समयमा चितवनका गोलकिपर विशाल र डिफेन्सबीच तालमेल नमिल्दा बुटवलले गोल फर्कायो। बिनोङले गोलकिपर विशाल अगाडि बढेको अवस्थामा दुई डिफेन्डरको बिचबाट खाली पोस्टमा गोल गरे।बुटवलले थप आक्रमण गरे पनि गोल हुन सकेन र १–१ को बराबरीमै सकियो।  

प्रकाशित: २१ मंसिर २०८० १४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App