२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मकवानपुर गोल्डकप माघमा हुने

फुटबल संघको बैठकका सहभागीहरु।

छैठौं संस्करणको सहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ १६ गतेबाट सञ्चालन हुने भएको छ।

गोल्डकपको आयोजक संस्था मकवानपुर जिल्ला फुटबल संघको कार्यसमिति बैठकले माघ १६ गतेबाट छैठौं मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।

गोल्डकपको आवश्यक तयारीलाई अघि बढाइएको जिल्ला फुटबल संघका अध्यक्ष समेत रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य टीकाराम लामाले जानकारी दिए।

गत वर्षझैं यस वर्ष पनि प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।यसअघि सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल प्राप्त गर्दै आएका थिए।सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल नै दिने गरी पहल भैरहेको आयोजकले जानकारी दिएको छ।

‘फुटबल संघको बैठकबाट गोल्डकपको मिति तोकेका छौं।अब आवश्यक तयारीलाई अघि बढाउँछौं, गोल्डकप अघि जिल्ला लिग क्वालिफाइ प्रतियोगिता, रेफ्री र प्रशिक्षक तालिम समेत सञ्चालन गर्ने भएका छौं’, लामाले भने, ‘मकवानपुर गोल्डकपमा अघिल्लो वर्षझैं यस वर्ष पनि १२ टिमको सहभागिता रहनेछ।

यसपटक अष्टेलियाको एउटा टिमलाई पनि सहभागी गराउने प्रयास भैरहेको छ ।’ बागमती प्रदेश खेलकुद विकास परिषद्, हेटौंडा उपमहानगरपालिका लगायतका खेलकुद सम्बद्ध संस्था र जिल्लाका स्थानीय तहको आर्थिक सहयोगमा मकवानपुर गोल्डकप सञ्चालन हुँदै आएको छ।स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको पाँचौ संस्करणबाट २ लाख १० हजार ४४५ रुपैयाँ बचत भएको थियो । पाँचौ संस्करणको फाइनलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै मनाङ मस्र्याङ्दी क्लबले उपाधि जितेको थियो।

लिग क्वालिफाइमा १२ टिम

आगामी चैत्रमा हुने मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको लागि फुटबल संघले आवश्यक तयारी थालेको छ। जिल्ला लिग अघि यही मंसिर २३ गतेबाट लिग क्वालिफाइ फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ। क्वालिफाइको लागि जिल्लाका १२ वटा क्लव दर्ता भएको छ।

फुटबल संघले खेल तालिका समेत सार्वजनिक गरेको छ। लिग क्वालिफाइ खेल्नका लागि ज्ञानज्योति युवा क्लव हेटौंडा, पदमपोखरी फुटबल एकेडेमी, बकैया यूथ क्लव, पञ्चशील युवा क्लव, कमलदेवी युवा क्लव, जनहित युवा क्लव, द रिभाइबल यूथ क्लव, कमाने फुटबल एकेडेमी, अग्रसर युवा क्लव, जनप्रवाह क्लव, सहयोगी युवा समाज रसमाज कल्याण युवा क्लव दर्ता भएका छन्। 

क्वालिफाइबाट फाइनल पुग्ने दुई क्लवले अर्को वर्षको जिल्ला लिग खेल्न पाउने र यस वर्षको लिगबाट दुईवटा क्लव रेलिगेसनमा पर्ने जिल्ला फुटबल संघका महासचिव छवि सुवेदीले जानकारी दिए।प्रतियोगिताको लागि जिल्ला कार्यसमिति सदस्य आलोक स्याङ्तानको संयोजकत्वमा समिति निर्माण गरिएको छ।फुटबल संघको बैठकले पुसको दोस्रो साताबाट रेफ्री तथा प्रशिक्षक तालिम सञ्चालन गर्ने निर्णय समेत गरेको छ। 

प्रकाशित: २१ मंसिर २०८० १२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App