१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

इलामविरुद्धको जितबाट पोखरा शीर्ष स्थानमा

नेपाल सुपर लिग

स्पोर्टिङ इलामविरुद्ध गोल गरेपछि पोखरा थन्डर्सका सञ्जीव विष्ट।तस्बिर सौजन्य: विशाल पन्थ

मार्की खेलाडी आयुष घलान मैदानमा प्रवेश गरेसँगै पोखरा थन्डर्सले बुधबार स्पोर्टिङ इलाम एफसीविरुद्ध सुधारिएको प्रदर्शन गर्दै १–० को जित निकालेपछि जारी नेपाल सुपर लिग (एनएसएल)को दोस्रो सिजनमा शीर्ष स्थानमा उक्लिएको छ।

दशरथ रंगशालामा सुरुको ४५ मिनेट पोखरा थन्डर्स पूर्ण दबाबमा रहेर खेल्दा एउटा पनि आक्रमण बनाउन असफल रह्यो। त्यसैले पहिलो हाफको खेलमा स्पोर्टिङ इलामले अपराजित टोली पोखराको डिफेन्स लाइनलाई एकपछि अर्को चुनौती दियो। तर, गोल हुन भने सकेन। मिडफिल्डमा राम्रोसँग बल खेलाउन सक्ने मार्की खेलाडी आयुषको अनुपस्थिति पोखराका लागि पहिलो हाफमा खड्किन पुग्यो। उनी त्यसअघि झापा एफसीसँगको खेलमा बल लाग्दा घाइते हुन पुगेका थिए। त्यसैले स्पोर्टिङ इलामसँग पहिलो हाफमा उनी मैदानबाहिर नै रहे।

उनी नहुँदा खेलको सुरुआतदेखि नै इलामले बल आफ्नो नियन्त्रणमा लिँदै एकपछि अर्को आक्रमण बुन्यो। तर, दोस्रो हाफमा आयुष मैदान प्रवेश गरेसँगै पोखरा खेलमा हाबी भयो र सुरुमा नै गोल गर्दै जित पनि निकाल्यो। समान चौथो खेलमा दोस्रो जित निकाल्दै पोखरा शीर्ष स्थानमा उक्लिँदा इलाम एक मात्र जितसहित छैटौं स्थानमा यथावत् छ। इलामले तेस्रो हार सामना गर्दा पोखराले भने दोस्रो जित निकालेको छ। इलामले एक मात्र जित झापा एफसीमाथि निकालेको थियो। अपराजित पोखराले भने झापासँग बराबरीको नतिजा सामना गरेका थियो।

एफसी चितवनलाई हराउँदै सुखद सुरुआत गरेको पोखराले ललितपुर सिटीसँग पनि अंक बाँडेको थियो। चार खेलबाट पोखराको ८ अंक हुँदा इलामको तीन अंक छ। यो हारपछि स्पोर्टिङ इलामका प्रशिक्षक मेघराज केसीले अर्को चरणमा जाने सम्भावना ३० प्रतिशत मात्र रहेको बताए। ‘राम्रो खेलेर अवसर पनि सिर्जना भयो। तर, गोल हुन सकेन र उल्टै हार बेहोर्नुपरेको छ,’ प्रशिक्षक केसीले भने,‘यो खेल जितेको भए दोस्रो चरणमा पुग्ने सम्भावना ७० प्रतिशत हुन्थ्यो। यद्यपि, हार सामना गर्नुपर्दा अब दोस्रो चरणमा पुग्ने सम्भावना ३० प्रतिशत मात्र छ।’

पोखराका सहायक प्रशिक्षक राजेन्द्र तामाङले पहिलो हाफमा दबाबमा रहेर खेले पनि आयुषको पुनरागमनसँगै टोलीको मनोबल बढेको र जित पनि सम्भव भएको बताए। ‘पहिलो हाफमा तालमेल मिलेन र इलामले सुरुदेखि नै दबाबमा राख्यो,’ उनले भने,‘तर, दोस्रो हाफमा हामीले ड्रेसिङ रुममा खेलाडीको मनोविज्ञान सुधार गर्ने काम ग¥यौं। साथै आयुषको प्रवेशसँगै खेल पनि हाम्रो पक्षमा आयो। उनले बल नियन्त्रणमा राख्दा सहज भयो।’ त्यसअघि छैटौं मिनेटमा नै इलामको पहिलो आक्रमण बन्यो।

इब्राहिम जितेको पासमा ओमार थिओमको हेडर माथिल्लो बारभन्दा केही माथिबाट बाहिरिन पुग्यो। १३औं मिनेटमा फोडे क्यामराले कर्नर साइडबाट गरेको प्रहार दोस्रो बारनजिकैबाट बाहिर गयो। इलामले २३औं मिनेटमा फ्रिकिक प्रहार सदुपयोग गर्न सकेन। करिब २५ यार्डबाट इब्राहिमको प्रहार पोखराका गोलकिपर प्रिसोले सहजै रोके।

२९औं मिनेटमा फोडेको प्रहार प्रिसोले डाइभ गर्दै बाहिर पठाए। आशिष गुरुङले ४२औं मिनेटमा इलामलाई अग्रता दिलाउने अवसर गुमाए। पेनाल्टी क्षेत्रमा उनको फ्रिहेडर पोस्टको दिशामा रहन सकेन।

इलामका लागि ४५औं मिनेटमा ओमरले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार प्रिसोले रोक्दै संकट टारे। पहिलो हाफमा इलामले एकपक्षीय रूपमा दबाब बनाए पनि गोल हुन भने सकेन। पोखराले दोस्रो हाफको सुरुआतमा नै गोल ग¥यो। ४६औं मिनेटमा मोसे तुमले पेनाल्टी क्षेत्रबाट गरेको सशक्त प्रहार पहिलो बारमा ठोकिँदै इलामका गोलकिपर विकेश कुथुको ढाडमा लागेर गोललाइन हुँदै अर्को कर्नर पुग्यो। सोही बल नियन्त्रणमा लिँदै पोखराका आयुषले गरेको प्रहार इलामले क्लियर गरिदिए।

आयुषकै कर्नर प्रहारमा इलामका ओमारको खुट्टा डिफ्लेक्ट भएको बललाई पोखराका सञ्जीव विष्टले वान टचमार्पmत गोलमा परिणत गराएका हुन्। खेलको पहिलो आक्रमणमा नै पोखराले गोल गरेको हो। ४७औं मिनेटमा अग्रता बनाएको पोखराले एकपछि अर्को आक्रमण बुन्दा केही समय इलाम दबाबमा प¥यो। त्यस कारण इलामको रक्षापंक्ति निकै व्यस्त रह्यो। तर, ६७औं मिनेटमा इलामका डिफेन्डर विमल पाण्डेले गोल गर्ने सुन्दर अवसर खेर फाल्दै खेलमा फर्किने अवसर गुमाए।

करिब ३५ यार्ड टाढाबाट फोडेको फ्रिकिक प्रहारमा अनमार्क रहेका विमलको हेडरले सही दिशा लिन सकेन। इलामका इब्राहिमले ८०औं मिनेटमा पनि गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन्। पेनाल्टी क्षेत्रबाट उनको प्रहार पोखराका गोलकिपर प्रिसोले सहजै रोके। इन्जुरी समयमा पोखराका सुरजज्यू ठकुरीको लामो प्रहार ललितपुरका गोलकिपर विकेशले पन्च गर्दै बाहिर पठाइदिए। त्यसपछि पोखराले केही आक्रमण बनाए पनि थप गोल हुन सकेन र इलाममाथि साँघुरो जित निकाल्यो।

प्रकाशित: २१ मंसिर २०८० ००:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App