२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ललितपुरको तेस्रो बराबरी

वीरगन्जका गोलकिपर दीप कार्कीलाई बिट गरी गोल गर्दै ललितपुरका इमोन इजेकिल ।तस्बिर सौजन्य ः विशाल पन्थ

सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धासँगै सर्वाधिक गोल निस्किएको खेलमा वीरगन्ज युनाइटेडले डेब्यु गरेको नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा पहिलो अंक बटुल्यो। यसबाट अपराजित टोली ललितपुर सिटी एफसीले भने तेस्रो बराबरीको नतिजा सामना गर्नुप¥यो।

नेपाली राष्ट्रिय टोलीका सदस्य अनन्त तामाङको कप्तानीमा रहेको ललितपुर सिटी जारी सिजन अपराजित चार टोलीमध्ये एक हो। यता, यसै सिजनबाट एनएसएलमा डेब्यु गरेको वीरगन्ज युनाइटेडले भने सुखद सुरुआत गर्न सकेको थिएन। गोलकिपर दीप कार्कीको कप्तानीमा रहेको वीरगन्जले ललितपुरसँग प्रतिस्पर्धा गर्नुअघि दुई खेल गुमाउँदा कमजोर टोलीका रूपमा आफूलाई उभ्याएको थियो। त्यसैले मंगलबार यी दुई आमनेसामने हुँदा बलियो प्रदर्शन गर्दै आएको ललितपुर हाबी हुने अनुमान गरिए पनि वीरगन्जले यस सिजनकै सम्भवतः उत्कृष्ट फुटबल खेल्यो।

सोही कारण वीरगन्जले २–२ को बराबरी गर्दै बलियो टोली ललितपुरविरुद्ध एक अंक पनि निकाल्यो। वीरगन्जले सुरुआत अग्रता लिए पनि त्यसलाई लामो समयसम्म जोगाउन सकेन। तर, दोस्रो हाफमा बराबरी गोल फर्काउँदै वीरगन्जले बराबरीमा ल्यायो। त्यो बराबरी जोगाउँदा डेब्यु सिजनको पहिलो अंक पनि पायो। यो बराबरीले शीर्ष स्थानको होडमा रहेको ललितपुरलाई ठूलो धक्का लागेको छ। चार खेलबाट ललितपुर एक जित र तीन बराबरीका साथ ६ अंकसहित दोस्रो स्थानमा छ। जितले ललितपुरलाई शीर्ष  स्थानमा पुर्‍याउँथ्यो।

तर, वीरगन्जको सुधारिएको प्रदर्शन ललितपुरका लागि बाधक बन्यो। शीर्ष स्थानको धनगढी एफसीको तीन खेलबाट सात अंक छ। तीन खेल खेलेको वीरगन्जको भने एक अंक छ। खेलअवधिभरले तुलनात्मक रूपमा ललितपुरले धेरै अवसर सिर्जना गरे पनि दुई गोल मात्र सम्भव भयो। दुवै गोल विदेशी खेलाडी इमोन इजेकिल र निखिल कदमले गरेका हुन्। यता, वीरगन्जका लागि भने विलियम ओपोकु र कृपाकान्त महतो थारूले गरेका थिए। त्यसअघि खेलको पाँचौं मिनेटमा ललितपुर सिटीले दुई अवसर सिर्जना ग¥यो। ओमालाजा करिमको फ्रिकिक प्रहार वीरगन्जका डिफेन्डर एकिङ्स बाफौरले हेडमार्फत क्लियर गरिदिए।

सोही कर्नरमा पनि ललितपुरले गोल अवसर बनायो। अनिल महर्जनको कर्नरमा अनन्त तामाङको हेडर वीरगन्जका गोलकिपर दीप कार्कीले बचाए। तर, दबाबमा रहेको वीरगन्जले १०औं मिनेटमा नै मिडफिल्डर ओपोकुको गोलबाट अग्रता लियो। बक्सबाहिर अनिलले क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिँदै औबेद औसुले ओपोकुलाई दिएको पास कप्तान अनन्तले क्लियर गर्न खोजे। तर, अनन्तले क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिँदै ओपोकुले लेफ्ट फुटेड प्रहार गोलमा परिणत गराए। उनको प्रहार ललितपुरका गोलकिपर जेफ्री विली मार्सेललाई बिट गर्दै जाली चुम्यो।

यससँगै फ्रेन्च गोलकिपर जेफ्रीले जारी सिजन पहिलो गोल बेहोरे। यसअघिका तीन खेलमा ललितपुर शतप्रतिशत क्लिन सिट राखेको टोली हो। तर, वीरगन्जको अग्रता तीन मिनेट पनि टिक्न सकेन। १३औं मिनेटमा मिडफिल्डर सेसेहाङ आङदेङ्बेको लङ रेन्ज थ्रु बललाई सदुपयोग गर्दै फरवार्ड इमोनले सुन्दर गोल गरे। इमोनले डिफेन्डर जाजे गुस्ताभोलाई छक्याएर वीरगन्जका मार्कीसमेत रहेका दीपलाई बिट गर्दै गोल गरेका हुन्। २४औं मिनेटमा इमोनको प्रहारले पुनः क्षति पु¥याउन लाग्दा मिडफिल्डर भिसोन गुरुङले बललाई क्लियर गरिदिए।

२७औं मिनेटमा ललितपुरले कदमको गोलमा अग्रता लियो। बुटवलका डिफेन्डरले पेनाल्टी क्षेत्रभन्दा केही बाहिर नियन्त्रणमा लिन नसकेको बल खोस्दै कदमले गोल गरेका हुन्। कदमको प्रहार सशक्त नभए पनि वीरगन्जका गोलकिपर दीपले सहज गोल खान पुगे। ३४औं मिनेटमा मिनेटमा दिनेश हेन्जनको उत्कृष्ट पासमा सेसेहाङले पेनाल्टी क्षेत्रमा गोल गर्ने अवसर खेर फाले। त्यसको तीन मिनेटपछि नै वीरगन्जका ओबेदले खेलमा फर्कने अवसर सदुपयोग गर्न सकेनन्। भिसोनको पासमा पेनाल्टी क्षेत्रमा रहेका आबेदले फ्री हेडरमा गोल गर्ने अवसर गुमाएका हुन्।

त्यससँगै पहिलो हाफमा ललितपुर २–१ ले अगाडि रह्यो। ४६औं मिनेटमा इमोनको फ्रिकिक प्रहार वीरगन्जका गोलकिपर कार्कीलाई समस्या हुन सकेन। वीरगन्जले ५२औं मिनेटमा कृपाकान्त महतो थारूको गोलबाट खेलमा फर्कियो। ओपोकुले करिब ३० यार्ड टाढाबाट गरेको सशक्त प्रहार माथिल्लो बारमा लाग्दै फर्कने क्रममा ललितपुरका कप्तान अनन्तको खुट्टामा डिफ्लेक्ट भएको बल नियन्त्रणमा लिँदै कृपाकान्तले नजिकैबाट गोल गरेका हुन्। ५७औं मिनेटमा जय गुरुङको सशक्त प्रहार भाग्यशाली बनेन।

करिब २२ यार्ड टाढाबाट उनले गरेको प्रहार दोस्रो बारमा लागेर फर्किंदा ललितपुरका गोलकिपर जेफ्रीको ढाडमा ठोकिए पनि गोल हुन सकेन। इन्जुरी समय ललितपुरले अवसर बनाए पनि गोलमा परिणत हुन सकेन। कप्तान अनन्तको सशक्त फ्रिकिक प्रहारमा वीरगन्जका गोलकिपर दीपले उत्कृष्ट डाइभ गर्दै आफ्नो टोलीको संकट टारे। त्यसपछि थप गोल हुन सकेन र खेल बराबरीमै टुङ्गियो।

प्रकाशित: २० मंसिर २०८० ००:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App