२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जारी सिजनमा बुटवलको पहिलो जित

नेपाल सुपर लिग

एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोल प्रेरणामा बुटवल लुम्बिनी एफसीले जारी नेपाल सुपर लिग (एनएसएल)को दोस्रो सिजनमा आइतबार पहिलो जित निकालेको छ।

जारी सिजन आफ्नो तेस्रो खेलमा बुटवलले आइतबार स्पोर्टिङ इलाम एफसीमाथि २–१ को रोमाञ्चक जित निकाल्दै पहिलो सफलता आत्मसात् गरेको हो। दशरथ रंगशालामा रोमाञ्चक बनेको खेलमा तीनै गोल दोस्रो हाफमा सम्भव भयो।

बुटवलले सुरुआती अग्रता लिए पनि स्पोर्टिङ इलामले गोल फर्काउँदै बराबरीको स्थितिमा ल्यायो। तर, कप्तान एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोलबाट बुटवल लुम्बिनीले पुनः अग्रता लियो। सोही गोल नै बुटवललाई जारी सिजन तीन अंक दिलाउन पर्याप्त बन्यो।

बुटवलले यसअघि पहिलो खेलमा ललितपुर सिटी एफसीसँग २–० र दोस्रो खेलमा धनगढी एफसीसँग १–० ले हार बेहोरेको थियो। तर, तेस्रो खेलमा भने सुधारिएको प्रदर्शन गरेको बुटवल हारको शृंखला रोक्न सफल भयो।

यता, स्पोर्टिङ इलामले पनि दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० को हार बेहोरेको इलामले दोस्रो खेलमा झापा एफसीमाथि १–० को जित निकालेको थियो। तर, तेस्रो खेलमा पुनः इलामले हार सामना गर्नुप¥यो। यस क्रममा स्पोर्टिङ इलामले लगातार दोस्रो खेलमा पेनाल्टी अवसर गुमायो।

झापासँग पेनाल्टी अवसर खेर फालेको इलामले त्यसको क्षति भने बेहोर्नुपरेको थिएन। यस पटक भने खेलमा स्पोर्टिङ इलामले पेनाल्टी अवसर गुमाउँदाको क्षति बेहोर्नुपरेको छ। दुवै खेलमा इलामका विदेशी खेलाडीले सो अवसर खेर फालेका हुन्।

झापासँग अमाथ एन्डअले पेनाल्टीमा गोल गर्न सकेका थिएनन्। आइतबार पनि उनी नै पेनाल्टीका लागि अघि सरेका थिए। तर, फोडे क्यामराले पेनाल्टी हाने पनि असफल रहे।

त्यसअघि खेलको तेस्रो मिनेटमा इलामका भरत खवासको प्रहार पहिलो बारमा लागेर फर्कियो। फोडेको पासमा भरतको वान टच बारमा लागेर फर्किएपछि इलामले अग्रता लिन पाएन। बुटवलले छैटौं मिनेटमा पहिलो अवसर सिर्जना गर्‍यो।

एरिकले गरेको फ्रिकिक प्रहार इलामका गोलकिपर विकेश कुथुले सहजै नियन्त्रणमा लिए। ३९औं मिनेटमा इलामका फोडेले २२ यार्ड नजिकबाट गरेको फ्रिकिकलाई पोस्टको दिशा दिन सकेन। ४५औं मिनेटमा स्टेफन बिनोङको नजिकै दूरीबाट हेडर इलामका गोलकिपर विकेशको खुट्टामा ठोकिएर फर्किन पुग्यो। त्यससँगै पहिलो हाफको खेल गोलरहित बराबरीमा रह्यो।

४९औं मिनेटमा जिलेस्पीजंगले पेनाल्टी क्षेत्रबाटै दिएको पासमा अनमार्क रहेका बिनोङले सहज गोल गर्ने अवसर पाए। ५८औं मिनेटमा फोडेले १० यार्ड नजिकबाट गरेको प्रहारलाई बुटवलका गोलकिपर मोहमोडौले उत्कृष्ट तरिकाले बचाए।

सोही क्रममा ह्यान्ड बल भएपछि इलामले पेनाल्टीमार्पmत खेलमा फर्किने अवसर खेर फालेको हो। एर्नेस्ट टेम्पीले ह्यान्डबल गरेपछि इलामले पेनाल्टी पाएको थियो। तर, फोडेको फितलो प्रहार बुटवलका गोलकिपर मोहमोडौले रोके।

६९औं मिनेटमा अबडौल्गे बाले खेलमा फर्किने उत्कृष्ट अवसर गुमाए। अमाथले पेनाल्टी क्षेत्रबाट दिएको उत्कृष्ट पासमा बा करिब आठ यार्डनजिकबाट गोल गर्न असफल रहे। ७६औं अमाथको क्रस बल रोक्दै बुटवलका गौरव श्रेष्ठले क्लियर गर्ने प्रयास गर्दा आफ्नै पोस्टमा लागेर बाहिरियो।

एक मिनेटपछि फोडेले २२ यार्ड टाढाबाट गरेको सशक्त प्रहार बुटवलका गोलकिपर मोहमोडौले फेरि बचाए। लगत्तै रिबाउन्ड बललाई नियन्त्रणमा लिँदै बाले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार सीधै मोहमोडौको हातमा पुग्यो। तर, ७८औं मिनेटमा फोडेले गोल गर्दै इलामलाई खेलमा फर्काए।

सन्तोष खत्रीको लामो प्रहार माथिल्लो बारमा लागेर तल झरेको बललाई गोलकिपर मोहमोडौले नियन्त्रणमा लिन नसक्दा बाले गोल गरेका हुन्। ८८औं मिनेटमा बुटवल लुम्बिनीका कप्तान एरिकले उत्कृष्ट फ्रिकिक गोल गर्दै आफ्नो टोलीलाई पुनः अग्रता दिलाए। 

इलामका अमाथले बिनोङलाई लडाएपछि बुटवलले करिब ३० यार्ड टाढाबाट फ्रिकिक अवसर पाएको थियो। सो अवसर सदुपयोग गर्दै एरिकले उत्कृष्ट गोल गरे। यो गोल जारी सिजनकै उत्कृष्ट गोल थियो। यससँगै बुटवलले इलाममाथि रोमाञ्चक जित निकाल्यो।

प्रकाशित: १८ मंसिर २०८० ००:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App