१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

एमेच्योर सद्भावलाई उपाधि

युवा एमेच्योर गल्फर सद्भाव आचार्य सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन्।

सद्भावले बिहीबार प्रोफेसनल गल्फर दिनेश प्रजापतिमाथि सात स्ट्रोकको जित निकाल्दै सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको पहिलो उपाधि जितेका हुन्। सद्भावका लागि करियरको यो दोस्रो उपाधि पनि हो। यसअघि उनले गत सिजन सूर्य नेपाल च्यालेन्ज जितेका थिए।

बिहीबार अन्तिम दिन तीन अन्डर ६९ स्कोरको प्रदर्शन नै सद्भावलाई उपाधि दिलाउन पर्याप्त बन्यो। समग्रमा १७ अन्डर दुई सय ७१ को उत्कृष्ट नतिजासहित उनले ३३ प्रोफेसनल गल्फरलाई जिल्याए। यससँगै उनले एमेच्योरतर्फको उपाधि पनि आफ्नो पोल्टामा पारे।

दिनेशले बिहीबार इभन पार ७२ मा खेलेपछि सद्भावलाई भेट्टाउन सकेनन्। समग्रमा १० अन्डर दुई सय ७८ सहित उनी उपविजेतामा सीमित भए। यद्यपि, प्रोफेसनलतर्फ पहिलो हुँदा दिनेशले विजेताको पुरस्कार एक लाख ४५ हजार रूपैयाँ नगद प्राप्त गरे।

समग्रमा सात अन्डर दुई सय ८१ को नतिजामा भुवन नगरकोटी तेस्रो भए। शुक्रबार उनले इभन पार ७२ मा खेल सकाए। सञ्जय लामा समग्रमा इभन पार दुई सय ८८ प्रदर्शनमा चौथो भए। अन्तिम दिन दुई ओभर ७४ स्कोर सामना गर्दै उनले खेल पूरा गरे। तर, त्यो नतिजा पनि उनलाई तेस्रो स्थानमा रहन पर्याप्त बन्यो।

प्रोफेसनलतर्फ दोस्रो हुँदा भुवनले नगद ९४ हजार र तेस्रो हुँदा सञ्जयले ७० हजार रूपैयाँ पुरस्कार पाए। नीरज तामाङ पाँचौं भए। अन्तिम १८ होलको खेल इभन पार ७२ मा सकाएपछि नीरज ५८ हजार नगद पुरस्कार आफ्नो नाममा लेखाउन सफल भए।

 समग्रमा भने उनी दुई ओभर २ सय ९० को स्कोरमा रहे। पहिलो दिन शीर्षता बनाएका टासी छिरिङ एमेच्योरतर्फ दोस्रो भए। अन्तिम दिन तीन ओभर ७५ स्कोर गरेका उनले समग्रमा तीन ओभर दुई सय ९१ को कार्ड बनाए।

समग्रमा भने उनी छैटौं स्थानमा रहे। विजेतालाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दीप्रा लाहिरी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे। कुल ७२ होलमा प्रतिस्पर्धा भएको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र पाँच एमेच्योर गरी कुल ३८ गल्फरले चुनौती प्रस्तुत गरेका थिए। कुल ८ लाख ४० हजार नगद पुरस्कार राशिको प्रतियोगितामा कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गरे।  

प्रकाशित: ८ मंसिर २०८० ०१:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App