५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

पौडीमा सहयोग गर्न हुसेन तयार

नेपाल भ्रमणमा रहेका विश्व एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसाल्लमले नेपालको पौडी खेलमा धेरै सम्भावना रहेको उल्लेख गर्दै पौडीमा नेपालजस्तो अल्पविकसित देशलाई सहयोग गर्ने तयार रहेको बताएका छन्।

नेपाल पौडी संघले मंगलबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा उनलाई स्वागत गरेको थियो। सोही अवसरमा अध्यक्ष हुसेनले पौडीमा नेपाललगायत विश्वका अल्पविकसित राष्ट्रलाई सहयोग गर्न आफूहरू लागि परिरहेको बताएका हुन्।

उनले सानै उमेरदेखि बालबालिकालाई पौडीमा आकर्षित गर्न संघले गरेको कामप्रति प्रंशसा गरे। कार्यक्रममा नेपाल पौडी संघले पौडीमा नेपालको अवस्थाबारे विश्व एक्वेटिक्सका अध्यक्ष हुसेनलाई जानकारी गराएको थियो।

सो अवसरमा संघले वल्र्ड एक्वेटिक्सका अध्यक्ष हुसेन, वल्र्ड एक्वेटिक्सका कोचिङ एडभाइजर जेम्स गिब्सन र पर्निल ब्लुम (ओलम्पिक तथा वल्र्ड च्याम्पियन) लाई मायाको चिनो प्रदान गरेको थियो। त्यसअघि सो टोलीले मंगलबार नै नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव घिसिङसँग भेट गरेको थियो।

घिसिङले पनि नेपालमा पौडीको अवस्थाबारे जानकारी गराउनुका साथै विश्व एक्वेटिक्सले नेपाली पौडी र खेलाडीलाई गर्न सकिने सहयोगका विषयमा कुराकानी गरेका थिए। सदस्यसचिव घिसिङले पेरिस ओलम्पिकका लागि पौडी खेलाडीको तयारी प्रशिक्षणलाई विश्व एक्वेटिक्सले गर्न सक्ने सहयोगका बारेमा पनि हुसेनसँग आग्रह गरेका थिए।  

प्रकाशित: २२ कार्तिक २०८० ०२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App