६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

आइसिसी ट्वान्टी-२० विश्वकपमा नेपाल

मोन्टीको प्रशिक्षणमा तेस्रो ठुलो सफलता

आइसिसी ट्वान्टी–२० विश्वकपमा पुगेपछि दर्शकलाई अभिवादन गर्दै नेपाली क्रिकेट टोली। तस्बिर: राजीव खत्री/नागरिक

एक दशकपछि आइसिसी ट्वान्टी–२० विश्वकपमा स्थान बनाएको नेपालले एक वर्ष बित्न नपाउँदै तीन ठुला सफलता प्राप्त गरेको छ। आइसिसी ट्वान्टी–२० विश्वकप छनोट (एसिया क्वालिफायर) को सेमिफाइनलमा शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेटले हराएपछि नेपालले दोस्रोपटक छोटो फरम्याटको क्रिकेटमा विश्वकप खेल्न लागेको हो।

यो सफलतासँगै नेपालले एक वर्ष पनि बित्न नपाउँदै विश्व क्रिकेटमा तेस्रो ठुलो प्रतियोगिता खेल्दै छ। गत वर्ष चैतमा आइसिसी विश्व लिग–२ को शीर्ष तीन स्थानमा रहँदै नेपालले जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट खेलेको थियो। तर त्यो छनोट नेपालका लागि यादगार बन्न सकेन। लगत्तै गत वैशाखमा मूलपानी क्रिकेट मैदानमा नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बन्यो र पहिलोपटक एसिया कपको यात्रा तय गर्‍यो।

एसिया कपमा भने नेपालले ठूला टोलीविरुद्ध आफ्नो प्रदर्शनबाट केही छाप छाड्यो। यसअघि ५० ओभरको विश्वकप छनोट र एसिया कप खेलेको नेपाली क्रिकेटमा एक वर्षभित्र नै तेस्रो सफलता भित्रिएको छ। नेपाल सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ। यी सफलतामा प्रशिक्षक मोन्टी देसाईको भूमिका अहं रह्यो।

देसाई गत वर्षको माघमा नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा भित्रिएका हुन्। आफ्नो कार्यकालको एक वर्ष पनि बित्न नपाउँदै उनले एकपछि अर्को सफलता दिलाइरहेका छन्।

 एक समय विवाद र खराब प्रदर्शनमा झेलिएको नेपाली क्रिकेटलाई उनले एक ठाउँमा उभ्याउँदै ठुला सफलता दिलाएका छन्। उनको आगमनअघि नेपाली टोलीमा पनि गुट, उपगुट थिए। तर उनले आफू भित्रिएसँगै ‘ह्याप्पी ड्रेसिङ रुम’ सिद्धान्त लागु गरे।

उनले लागु गरेको सिद्धान्तले टोलीभित्र एकता मात्र होइन, समग्र नेपाली क्रिकेटले नै फड्को मारेको छ। युएईमाथि शुक्रबारको जितपछि ओपनर आसिफ शेखले पनि नेपाली क्रिकेटको सफलतामा प्रशिक्षक देसाईको भूमिका भुल्न नसकिने भन्दै तारिफ गरे। शेखले तेस्रो सफलताको श्रेय पनि प्रशिक्षक देसाईलाई दिए। तीन सफलतामा युएईसँगको खेल संयोग बन्यो। नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईलाई नै डिएल मेथडअनुसार हराउँदै ५० ओभरको विश्वकप छनोटमा स्थान बनाएको थियो।

त्यसपछि मूलपानी क्रिकेट मैदानमा एसिसी प्रिमियर कपको फाइनलमा पनि युएईलाई हराउँदै पहिलोपटक एसिया कपको यात्रा तय गर्‍यो। यस पटकको ट्वान्टी–२० विश्वकपको यात्रा पनि नेपालले युएईलाई सेमिफाइनलमा पन्छाउँदै सफलता पाएको छ। जारी छनोट (एसिया क्वालिफायर) को समूह ‘ए’ को अन्तिम खेलमा ओमानसँगको हारबाट उत्रँदै नेपालले युएईविरुद्ध बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्‍यो। शुक्रबार सम्पन्न सेमिफाइनलमा नेपालले युएईलाई हराउँदा ओमानले पनि बहराइनमाथि १० विकेटको जित निकाल्दै विश्वकपको यात्रा तय गरेको छ।

एकै समूह ‘ए’ मा रहेका नेपाल र ओमानले अब सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने ट्वान्टी–२० विश्वकप खेल्नेछन्। नेपाल सन् २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी–२० विश्वकपपछि दोस्रो पटक खेल्न लागेको हो। ओमान भने तेस्रो पटक यो फरम्याटको विश्वकपमा छनोट भएको छ।

मूलपानी क्रिकेट मैदानमा १३५ रनको मध्यम लक्ष्य नेपालले मात्र दुई विकेटको क्षतिमा १७.१ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा शेखले ६४ रन र कप्तान रोहितकुमार पौडेल ३४ रनमा अविजित रहँदै जित दिलाए।

तेस्रो विकेटका लागि शेखले पौडेलसँग ६८ रनको साझेदारी गर्र्दै १७ बलअगावै जित निकाले। शेखले ५० बलमा सात चौका र दुई छक्का हिर्काए। पौडेलले २१ बल खेल्दै समान दुई चौका र छक्का प्रहार गरे। सुरुदेखि इनिङ समालेका शेखले करियरको चौथो अर्धशतक प्रहार गरे।

त्यसअघि सामान्य लक्ष्य पछ्याएको नेपालले तेसो ओभरको अन्तिम बलमा ओपनर कुशल भुर्तेललाई ११ रनमै गुमाउन पुग्यो। त्यसपछि ब्याटिङमा आएका गुल्सन झाले २२ रन जोड्दै शेखलाई साथ दिए। झाले शेखसँग ४१ रनको साझेदारी गरे। तर ९.३ ओभरमा बसिल हामिदले झालाई आउट गर्दै साझेदारी तोडे। झाले २४ बलमा तीन चौका हिर्काए। तर शेखले कप्तान पौडेलसँग राम्रो साझेदारी गर्र्दै जित दिलाए।

त्यससँगै नेपालले सन् २०२१ मा युएईमा नै सम्पन्न ट्वान्टी–२० विश्वकप छनोटको सेमिफाइनलमा युएईसँग नै बेहोरेको हारको बदला लियो। त्यो हारसँगै नेपाल विश्वकपमा छनोट असफल भएको थियो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले राम्रो सुरुआत गरे पनि नेपाली बलरले लयमा फर्कंदै पाहुना टोलीलाई सस्तैमा रोके। युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रनको मध्यम योगफल बनाए। युवा ब्याटर भ्रित्य अरविन्दले ६४ रन जोड्दै युएईको इनिङ समाले।

कुशल मल्लको बलमा आउट हुनुअघि उनले आठ चौका र दुई छक्का प्रहार गरे। त्यसअघि पावर प्लेमा युएईले दुई विकेट गुमाए पनि ४१ रन जोडेको थियो। चौथो ओभरमा नै नेपालले कप्तान मोहम्मद वासिम र खलिद साहलाई आउट गरेको थियो। तीव्र गतिका बलर सोमपाल कामीले एक छेउबाट राम्रो ब्याटिङ गरेका ओपनर वासिमलाई २६ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए। वासिमले १६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे।

सोही ओभरको पहिलो बलमा साह ३ रनमा रनआउट भएका थिए। तर तेस्रो विकेटका लागि अरविन्दले अर्का अनुभवी ब्याटर आसिफ खानसँग ३२ रनको साझेदारी गर्दै इनिङ उकासे। तर, ९.६ ओभरमा सन्दीप लामिछानेले खानलाई १३ रन एलबिडब्लु आउट गर्दै तेस्रो सफलता दिलाए। त्यसपछि अलिसान सरफुले १६ रन जोडे पनि त्यसबाहेकका ब्याटरले अरविन्दलाई साथ दिएनन्।

लामिछाने र कुशल मल्लले विकेटसँगै अन्तिम तीन ओभरमा उत्कृष्ट बलिङ गरे। लामिछानेले १८औं ओभरमा एक विकेटसँगै मेडन राखे। २०औं ओभरमा कुशलले दुई विकेटसँगै पाँच रन दिए र युएईलाई राम्रो योगफलबाट रोके।

समग्रमा उनले तीन ओभरमा तीन विकेट लिँदा ११ रन खर्चिए। लामिछानेले चार ओभरमा एक मेडनसहित दुई विकेट लिँदा १४ रन मात्र खर्चिए। सोमपाल र पौडेलको नाममा एक विकेट रह्यो।

मोन्टी देसाई गत वर्षको माघमा नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा भित्रिएका हुन्। आफ्नो कार्यकालको एक वर्ष पनि बित्न नपाउँदै उनले एकपछि अर्को सफलता दिलाइरहेका छन्। एक समय विवाद र खराब प्रदर्शनमा झेलिएको नेपाली क्रिकेटलाई उनले एक ठाउँमा उभ्याउँदै ठुला सफलता दिलाएका छन्। उनको आगमनअघि नेपाली टोलीमा पनि गुट, उपगुट थिए। तर उनले आफू भित्रिएसँगै ‘ह्याप्पी ड्रेसिङ रुम’ सिद्धान्त लागु गरे। उनले लागु गरेको सिद्धान्तले टोलीभित्र एकता मात्र होइन, समग्र नेपाली क्रिकेटले नै फड्को मारेको छ।  

प्रकाशित: १८ कार्तिक २०८० ००:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App