१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

एसिया क्वालिफायरः युएईसँग खेल्दै नेपाल, सुधारिएको प्रदर्शनको अपेक्षा

ओमानसँगको हारपछि नेपाल शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) सँग हुने आइसिसी ट्वान्टी–२० विश्वकप छनोट (एसिया क्वालिफायर) को सेमिफाइनलमा सुधारिएको प्रदर्शन गर्न चाहन्छ ।

गत संस्करण सन् २०२१ मा उसैको घरेलु मैदानमा सम्पन्न ट्वान्टी–२० विश्वकप छनोटको सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपाल दोस्रो छोटो फरम्याटको विश्वकप खेल्नबाट वञ्चित भएको थियो । यस पटक शुक्रबार मूलपानी क्रिकेट मैदानमा युएईसँग पछिल्ला हारको बदला लिँदै सन् २०१४ पछि विश्वकप खेल्ने नेपाललाई अवसर पनि हुनेछ । नेपालले सन् २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी–२० विश्वकप खेलेको थियो । तर, त्यसपछिको छनोट यात्रा भने नेपालका लागि सुखद रहेन ।

बिहीबार समूह ‘ए’ को अन्तिम खेलमा ओमानलाई हराउँदै नेपालको विजेताका रूपमा सेमिफाइनल पुग्ने लक्ष्य थियो । तर, शीर्ष क्रमका ब्याटरले निराशाजनक प्रदर्शन गर्दा नेपालको योजना सफल हुन सकेन । युवा ब्याटर विवेक यादवले अन्तिम ओभरमा आक्रामक ब्याटिङ गर्दै हारको संघारबाट नेपाललाई जितको आशा जगाए पनि सफल हुन सकेनन् । अन्तिम ओभरमा जितका लागि २६ रन आवश्यक हुँदा विवेकले तीन छक्कासहित आशा जगाएका हुन् । तर, अन्तिम तीन बलमा सात रन जोड्न नसक्दा नेपाल ओमानसँग पाँच रनले स्तब्ध भयो र समूहको उपविजेतामा नै खुम्चियो ।

त्यससँगै नेपालले समूहमा तीनै खेल नै जित्दै विजेता बनेको युएईलाई फेरि सेमिफाइनलमा प्रतिद्वन्द्वी पाएको हो । नेपालका प्रशिक्षक मोन्टी देसाईले ओमानसँग भएको गल्ती सुधार गर्दै सेमिफाइनलमा युएईविरुद्ध जित निकाल्ने बताए । ‘हामीले धेरै मिहिनेत गरेका छौं । पछिल्ला गल्तीलाई सुधार गर्दै युएईविरुद्ध कमब्याक गर्न चाहन्छ,’ प्रशिक्षक देसाईले भने, ‘ह्याप्पी ड्रेसिङ रुममा रहेका सबै खेलाडीप्रति मेरो विश्वास छ । उनीहरूको भूमिकाबारे पनि सबै स्पष्ट छन् । यो अन्तिम अवसरलाई सदुपयोग गर्न चाहन्छौं ।’  

नेपालले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १४६ रनको मध्यम लक्ष्य पाएको थियो । जबाफमा निकै खराब ब्याटिङ गरेको नेपाल निर्धारित २० ओभर नै खेल्दै १४० रनमा समेटियो । विवेकले डेथ ओभरमा बिलाल खानको पहिलो बलमै छक्का प्रहार गर्दै आशा दिलाए । त्यसपछि दबाबमा परेका बिलालले दोस्रो बल वाइड फ्याँके । दोस्रो र तेस्रो बलमा भने विवेकले छक्का प्रहार गरे । त्यससँगै तीन बलमा सात रन आवश्यक हुँदा नेपाल जितको संघारमा पुग्यो । तर, चौथो बलमा छक्का प्रहार गर्ने प्रयासमा विवेक ३९ रनमा क्याच आउट हुन पुगे ।

विवेकले २४ बलमा पाँच छक्का हिर्काए । विवेकको विकेटसँगै फेरि ओमानले पकड जमायो । त्यसपछि आएका अविनाश बोहोराले एक रन लिँदै करण केसीलाई स्ट्राइक दिएसँगै अन्तिम बलमा नेपाललाई छक्का आवश्यक प¥यो । करणले छक्का हान्ने प्रयास गरे पनि बाउन्ड्री लाइनमा क्याच हुन पुगे । करणले ११ बलमा १५ रन बनाए । त्यसअघि ओपनर कुशल भुर्तेलबाहेक अन्य ब्याटर क्रिजमा टिक्न नै सकेनन् । कुशलको २६ रन नै दोस्रो ठूलो व्यक्तिगत स्कोर रह्यो । नेपालले पहिलो विकेट तेस्रो ओभरमा गुमायो ।  

ओपनर आसिफ शेखलाई ५ रनमा गुमाएपछि नेपाल समालिन नै सकेन । त्यससँगै ५.५ ओभरमा नेपाल ४३÷३ को अवस्थामा पुग्यो । त्यसपछिका ब्याटरले समालिएर खेल्न नसक्दा लगातार पाँच विकेट गुमायो र नेपाल १५.४ ओभरमा ८५÷८ को अवस्थामा पुग्यो । यस क्रममा कप्तान रोहित पौडेल १२ रन, कुशल मल्ल १० रन, गुल्सन झा ३ रन, सन्दीप जोरा १२ रन र सन्दीप लामिछाने २ रनमा नै पवेलियन फर्किए ।

तर, तल्लो क्रमका विवेकले ठूला सट खेल्दै जित दिलाउने प्रयास गरे पनि सफल भएनन् । ओमानको बलिङमा अकिब इलियस, मेहरान, बिलाल खान र सकिल अहमदले दुई विकेट लिए । जिसान मकसुदको नाममा एक विकेट रह्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभर नै खेल्दै ९ विकेटको क्षतिमा १४६ रनको लक्ष्य प्रस्तुत ग¥यो । ओमानका कप्तान जिसान मक्सुदले सर्वाधिक ३२ रन बनाए । जिसानले एक चौका र तीन छक्का प्रहार गरे ।  

प्रकाशित: १७ कार्तिक २०८० ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App