२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

‘पदक जित्न निकै संघर्ष गरें’

चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेशा गोवर्धनले यात्रा कठिन भए पनि हार नमान्दा सफलता प्राप्त भएको बताएकी छन् ।  

चीनको हाङझाउमा सम्पन्न चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दोकी पलेशा गोवर्धनले शनिबार स्वदेश फर्कने क्रममा सो धारणा राखेकी हुन् । उनको यो पदक पारा एसियाली खेलकुदको पहिलो पनि हो । हाल चीनमा अध्ययनरत समेत रहेकी पलेशा देशलाई सफलता दिलाएपछि शनिबार स्वदेशी फर्किएकी हुन् । यस क्रममा पलेशाले आफ्नो अनुभव सुनाउँदै पदक प्राप्तिको यात्रा कठिन भएको समेत बताइन् । ‘चीनमा पढाइसँगै ट्रेनिङलाई पनि अगाडि बढाउने सोचेको थिएँ । तर, सोचेभन्दा गाह्रो भयो । यहाँ (नेपाल) हुँदा परिवार, गुरु सबैले सहयोग गर्नुहुन्थ्यो । त्यही भएर सजिलो पनि थियो,’ पलेशाले भनिन्,‘त्यहाँ सबै आपैंmले गर्नुपर्ने भएकाले निकै गाह्रो भयो । तर, मैले हार मानिनँ र पढाइसँगै ट्रेनिङको लागि पनि समय मिलाएँ ।’  

पलेशालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल पारालम्पिक कमिटीकी अध्यक्ष राधा घले, नेपाल तेक्वान्दो संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक र परिवारजनलगायतले स्वागत गरेका थिए । सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि बधाई दिइएको थियो । लामो समयदेखि उनलाई प्रशिक्षण दिँदै आएका लामाले एसियाली पारा खेलकुदमा नेपाललका लागि पलेशाले ऐतिहासिक पदक जितेकोमा खुसी व्यक्त गर्दै राष्ट्रिय खेलकुद परिषद्, नेपाल पारालम्पिक कमिटी र संघसंगै सम्बन्धित सबैलाई धन्यवाद दिए ।

पलेशाले खेल प्रतिस्पर्धाका क्रममा निकै नर्भस भएको पनि अनुभव सुनाइन् । ‘प्रतिस्पर्धाको दिन नर्भस पनि थिएँ । किनकि धेरै समयपछि रिङमा खेल्न गएको थिएँ । तर, जसरी पनि जित्नैपर्छ भन्ने थियो । एसियन पारा गेम्समा अहिलेसम्म नेपालले पदक जितेको थिएन । पहिलो पदक जितेकोमा खुसी छु,’ पलेशाले भनिन्,‘तर, मेरो लक्ष्य चाहिँ स्वर्ण पदक नै थियो । रजत फाइटमा पनि थोरैले पराजित भएँ । दुःख पनि लागेको छ । तर, पदकतालिकमा राष्ट्रलाई शून्य हुनबाट जोगाएकोमा एकदमै खुसी छु ।’ विमानस्थलबाट पलेशासहितको तेक्वान्दो टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा लगिएको थियो ।

त्यहाँ उनीहरूलाई राखेपका पदाधिकारी, कर्मचारी, शुभचिन्तकलगायतले स्वागत गर्दै बधाई दिए । पलेशा केही दिनका लागि चीनकै सांघाइबाट नेपाल आएकी हुन् । पलेशा सांघाईस्थित तोङ्जी विश्वविद्यालयमा आर्किटेक्चर इन्जिनियरिङको स्नातक तहमा अध्ययनरत छिन् । पलेशा नोभेम्बर ७ तारिखमा सांघाई फर्किंदै छिन् । पलेशा सांघाईबाटै एसियाली पारा खेलकुदमा सहभागी हुन हाङझाउ गएकी थिइन् । कात्तिक ७ गते भएको महिला के–४४ क्याटगोरीको ५७ केजीमुनि क्वार्टरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् ।

तर, सेमिफाइनलमा कजाकिस्तानकी कमिल्यासँग पराजित भए पनि रिपेचेजमा बाई पाएपछि पलेशाको कांस्य पदक पक्का भएको थियो । नेपालले पहिलो संस्करणदेखि नै एसियाली पारा खेलकुदमा सहभागिता जनाए पनि तेक्वान्दो भने चौथो संस्करणदेखि मात्र समावेश गरिएको हो । सदस्यसचिव घिसिङले पलेशालाई नेपाललाई ऐतिहासिक पदक दिलाएकोमा बधाई दिँदै उनीबाट राष्ट्रले अझ धेरै आशा गरेको बताए ।

‘पलेशा सम्भावना बोकेकी खेलाडी हुन् । सफलताका लागि पलेशासंगै तपाईंहरूलाई पनि बधाई छ,’ पलेशाको उपस्थितिमा उनका बुवाआमासँग कुराकानी गर्ने क्रममा सदस्यसचिव घिसिङले भने,‘पलेशाबाट हामी र राष्ट्रले अझ धेरै आशा गरेका छौं । अहिले पदक जितेर पलेशाले खुड्किलो मात्र उक्लेको हो । चुचोरोमा पुग्नु अझै बाँकी छ । पारा ओलम्पिकमा पदक जितेर अर्को इतिहास रच्न बाँकी नै छ । त्यसको तयारी लागि राष्ट्रिय खेलकुद परिषद्ले कुनै कसर बाँकी राख्ने छैन । यो मेरो प्रतिबद्धता हो ।’  

पलेशाका पिता प्रदीपले छोरीले पदक जितेकोमा गर्वको अनुभूति भएको उल्लेख गर्दै फरक क्षमताका आफ्ना सन्तानलाई समाजबाट लुकाउन नहुने धारणा व्यक्त गरे । ‘छोरीले पदक जितेकोमा गर्व लागेको छ । फरक क्षमता भएकाले पनि अवसर पाए केही गर्न सक्छन् । यो मेरो छोरीले मात्रै हैन खेलकुदका साथै अन्य क्षेत्रका अन्य फरक क्षमता भएकाले प्रमाणित गरिसकेको कुरा हो,’ प्रदीपले भने, ‘फरक क्षमता भएका सन्तानलाई पनि समाजसँग घुलमिल गराउन जरुरी छ । त्यसो भयो भने मात्र उनीहरूको मनोबल वृद्धि हुन्छ । आज मेरी छोरीले सफलता हासिल गरिन् । भोलि अवसर पाए थ्रुप्रै फरक क्षमता भएकाले राष्ट्रलाई योगदान दिन सक्छन् ।’

प्रकाशित: १३ कार्तिक २०८० ०१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App