६ पुस २०८१ शनिबार
image/svg+xml
खेल

रोयल फेमिलीले जित्यो मालिकादेवी कप

तेस्रो संस्करणको मालिकादेवी कप फुटबल प्रतियोगिताको उपाधिका रोयल फेमिली चौताराले जितेको छ। 

चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित दरबारडाँडा मैदानमा शुक्रवार सम्पन्न फाइनल खेलमा महांकालभूमि तामाङ समाज साँगाचोकलाई २–० गोलले पराजित गर्दै रोयल फेमिली प्रतियोगिताको विजेता बनेको हो। 

रोयल फेमिलीको जितमा उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका कृष सापकोटाले नायककीय प्रदर्शन गरे । पहिलो र दोस्रो हाफमा समान एक–एक गोल गरेका सापकोटा नै खेलको म्यान अफ द म्याच घोषित भए । रोयलले अधिकांश समय बल नियन्त्रणमा लिएर लगातार आक्रमणमा उत्रेपछि महांकालभूमि निरीह बन्दा उपबिजेतामा चित्त बुझाउन बाध्य भयो। 

  मेलचौर युवा जागरण समाजले आयोजना गरेको प्रतियोगिताको विजेता रोयल फेमिलीले मालिकादेवी कपसहित नगद १ लाख ११ हजार १ सय रुपैयाँ पुरस्कार पायो ।  उपविजेता महांकालभूमिले नगद ६६ हजार ६ सय ६६ रुपैयाँ हात पार्‍यो। 

रोयल फेमिलीका विदेशी खेलाडी एलेक्स उत्कृष्ट स्ट्राइकर,  रोनिश श्रेष्ठ सर्वाधिक गोलकर्ता र निर्मल श्रेष्ठले उत्कृष्ट प्रशिक्षकको उपाधि जित्दा महांकालभूमिका राम ढकाल उत्कृष्ट मिडफिल्डर, सहज कोइराला उत्कृष्ट गोलरक्षक र बिलभ तामाङ उत्कृष्ट डिफेण्डर घोषित भए।उत्कृष्ट खेलाडीले ट्रफी र नगद ३ हजार रुपैयाँ पुरस्कार पाए।चौतारा फाइभ यूथ क्लबले फेयर प्लेको उपाधि जित्यो।उसले ट्रफीको साथमा नगद ५ हजार रुपैयाँ पुरस्कार पायो।

विजेता टोली तथा खेलाडीलाई बागमती प्रदेश सरकारका भौतिक योजना मन्त्री युवराज दुलाल, चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापा लगायतले संयुक्त रुपमा ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरे।

एक सातासम्म चलेको खुला ७ ए साइड नगर कप प्रतियोगितामा बाह्यसहित जिल्लाका २९ टोलीले भाग लिएका थिए।जागरण समाजले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा बर्सेनी यो प्रतियोगिता आयोजना गर्दै आएको छ।आयोजकले बर्सेनी पुरस्कार राशि र सहभागी टोली बढाउँदा रोमाञ्चक बन्दै गएको यो प्रतियोगिता जिल्लामै चर्चित छ।‘जिल्लामै प्रतिष्ठित बनिरहेको प्रतियोगितालाई निरन्तरता दिनेछौँ,’ आयोजक जागरण समाजको अध्यक्ष कृष्ण श्रेष्ठले भने। 

प्रकाशित: ३ कार्तिक २०८० १७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App