२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मालिकादेवी कप: सेमिफाइनल समिकरण पुरा

जिल्लाकै चर्चित फुटबल प्रतियोगिता तेस्रो संस्करणको मालिकादेवी कपको सेमिफाइनल समीकरण पुरा भएको छ।

चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित दरबारडाँडा मैदानमा बुधबार भएका चार क्वाटर फाइनलका खेलपछि उपाधि होडका लागि अन्तिम चारको टुंगो लागेको हो।

महांकाल भूमि तामाङ समाज, चौतारा स्पोर्टिङ क्लब, रोयल फेमिली र चौतारा वडा नं. ६ सेमिफाइनलमा प्रवेश गरेका हुन्।

पहिलो क्वाटर फाइनलमा महांकाल भूमिले आयोजक मेलचौर युवा जागरण समाजलाई १–० ले हराउँदा २–२ गोलको बराबरीपछि सडेन डेथमा चौतारा स्पोर्टिङले इन्द्रावती यूथ क्लवलाई पराजित गर्‍यो।

अर्को खेलमा रोयल फेमिलीले थुम्कीडाँडा युवा क्लबलाई ३–० पन्छाउन सफल हुँदा अन्तिम क्वाटर फाइनलमा २–२ गोलकै बराबरीपछि चौतारा–६ ले पेनाल्टी सुटआउटमा फाइभ स्टार क्लबलाई स्तब्ध बनायो।

महांकाल भूमिका जिनलाप लामा, चौतारा स्पोर्टिङका विकास काफ्ले, रोयल फेमिलीका विदेशी खेलाडी एलेक्स र वडा नंं ६ का सुमन गुभाजू म्यान अफ द म्याच भए। एलेक्स मालिकादेवी कफमा डेब्यू गर्ने पहिलो विदेशी खेलाडी हुन्। उनीसहित म्यान अफ द म्याचले ट्रफी पुरस्कार पाए।

उपाधि भिडन्त पक्का गर्न बिहीबार सेमिफाइनलका खेल हुँदै छन्। पहिलो खेलमा रोयल फेमिली र चौतारा स्पोर्टिङबीच प्रतिस्पर्धा हुँदा दोस्रो सेमिफाइनलमा महांकाल भूमि र वडा नं. ६ भिड्ने छन्। यी खेलका विजेताबिच शुक्रबार उपाधिको लागि प्रतिस्पर्धा हुने छ।

स्थानीय मेलचौर युवा जागरण समाजको आयोजनामा भइरहेको खुला ७ ए साइड नगर कप प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ हात पार्ने छन्। प्रतियोगिताकै उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको जागरण समाजका सचिव सविन दङ्गालले जानकारी दिए।

प्रकाशित: १ कार्तिक २०८० १६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App