१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

युएईविरुद्ध सुखद सुरुआत गर्ने लक्ष्य

फाइल तस्बिर

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा बुधबारदेखि सुरु हुने ट्वान्टी–२० शृंखलामा सन्दीप लामिछानेबिना खेल्नु असर पर्ने बताएका छन् । नेपालले घरेलु मैदानमा बुधबार संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दै त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको सुरुआत गर्दै छ । आफ्ना महत्त्वपूर्ण बलर सन्दीपबिना नै नेपालले यो शृंखला खेल्न लागेको हो । 

शृंखलाअगाडि मंगलबार भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहितले सन्दीप नहुँदा असर गर्ने उल्लेख गर्दै यो शृंखलापछि उनी टोलीमा फर्किने आशा व्यक्त गरेका छन् । आगामी अक्टोबर ३० देखि घरेलु मैदानमा हुने ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरको तयारीस्वरूप नेपालले त्रिदेशीय शृंखला खेल्न लागेको हो ।

कप्तान रोहितले उक्त छनोटमा सन्दीप फर्किन सक्ने आशा व्यक्त गरेका हुन् । उनले सन्दीप नहुँदा टोलीलाई केही असर परे पनि टोली चुनौतीका लागि तयार रहेको समेत बताए । नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई) र हङकङले यो त्रिदेशीय शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोट यात्रामा बलियो दाबेदारी प्रस्तुत गर्न चाहन्छ । नेपाल मूलपानी क्रिकेट मैदानमा चिर परिचित प्रतिद्वन्द्वी युएईविरुद्ध जित निकाल्दै सुखद सुरुआत गर्ने लक्ष्यमा छ ।

कप्तान रोहितले शृंखलाका लागि भारतमा राम्रो तयारी भएको उल्लेख गर्दै राम्रो क्रिकेट खेल्नेमा विश्वस्त देखिए । नेपालले भारतमा दुई साता अभ्यास गरेको थियो । यस क्रममा नेपालले ट्वान्टी–२० मा नै केही अभ्यास खेल पनि खेल्यो । पछिल्ला समय एसिया कपमा पनि ट्वान्टी–२० फरम्याटमा नै क्रिकेट खेलेको र भारतमा पनि राम्रो अभ्यास पाएकाले आफ्नो टोलीले राम्रो प्रदर्शन गर्ने रोहितले बताए । 

आगामी कात्तिक १० गतेसम्म घरेलु मैदानमा हुने शृंखलामा १८ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको थियो । नेपालले यो शृंखलाबाट नै आगामी छनोटका लागि राम्रो टोली बनाउने उद्देश्यअनुरूपमा १८ खेलाडी समावेश गरेको उल्लेख गरेको छ ।  

कप्तान रोहितले घरेलु मैदानमा हुने शृंखलाबाट राम्रो टोली बनाउने उद्देश्यअनुरूप १८ खेलाडी समावेश गरिएको प्रस्ट्याएका हुन् । एसोसिएट राष्ट्रद्वय युएई र नेपाल चिरपरिचित प्रतिद्वन्द्वी हुन् । एकदिवसीय क्रिकेटमा यस वर्ष मात्र यी दुई देशबीच ६ प्रतिस्पर्धा भइसकेको छ । ट्वान्टी–२० मा भने नेपालले सन् २०२२ को फेब्रुअरीपछि युएईसँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । युएईका कप्तान मोहम्मद वासिमले नेपालविरुद्ध राम्रो क्रिकेट खेल्ने बताएका छन् । उनले नेपाल बलियो टोली रहे पनि यो फरम्याटमा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।

नेपालले मंगलबार एक कार्यक्रमबीच त्रिदेशीय शृंखलाको ट्रफी सार्वजनिक गरेको थियो । हङकङ भने नेपाल आइनपुगेकाले उक्त ट्रफी सार्वजनिक कार्यक्रममा उपस्थित भएन । नेपालले कात्तिक २ गते हङकङसँग, कात्तिक चार गते फेरि हङकङसँग र कात्तिक ६ गते युएईको सामना गर्ने तालिका छ । 

युएई र हङकङबीच भने कात्तिक ५ र ८ गते प्रतिस्पर्धा हुनेछ । एकअर्कासँग समान दुई खेल खेलेपछि अंकतालिकाका शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । शृंखलाको फाइलन खेल कात्तिक १० गते हुनेछ । शृंखलाको फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान तथा अन्य खेल मूलपानी क्रिकेट मैदानमा हुनेछन् । सबै खेलहरू बिहान ११ बजे हुनेछन् । 

प्रकाशित: १ कार्तिक २०८० ०१:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App