२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मालिकादेवी कप शनिबारदेखि सुरु हुने

चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरमा शनिबारदेखि जिल्लाकै चर्चित फुटबल प्रतियोगिता मालिकादेवी कपको तेस्रो संस्करण सुरु हुँदैछ।

स्थानीय मेलचौर युवा जागरण समाजको आयोजनामा खुला ७ए साइड नगर कप प्रतियोगिता हुन लागेको हो। एक साता चल्ने प्रतियोगितामा अन्तरजिल्लासहित २९ टोलीले भाग लिएको आयोजकले जनाएका छन्। शुक्रबार खेल तालिका सार्वजनिक गर्दै आयोजक जागरण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए।

कात्तिक ३ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छ। नकआउटको आधारमा खेलाइने प्रतियोगिताको उपबिजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ हात पार्ने छ। प्रत्येक खेलको म्यान अफ द म्याच र प्रतियोगिताकै उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको जागरण समाजका सचिव सविन दङ्गालले जानकारी दिए।

चौतारा साँगाचोकगढी नगरपालिका, नगरका वडा नंं ७ र ८ कार्यालय तथा नेपाल हिल्फे बाइलिङग्रिसको सहयोग रहेको प्रतियोगितामा जिल्ला फुटबल संघको प्राविधिक सघाउ रहेको उनले बताए। झण्डै १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको ठूलो आर्थिक स्रोत स्थानीयको चन्दा सहयोगबाट जुट्ने छ।

जागरण समाजले विगत तीन वर्षदेखि विजया दशमी तथा शुभदिपावलीको अवसरमा वर्षेनी यो प्रतियोगिता गर्दै आएको छ। आयोजकले वर्षेनी पुरस्कार राशी र सहभागी टोली संख्या बढाउँदै प्रतियोगितालाई भव्य र रोमाञ्चक बनाउँदै आएका छन्। प्रत्येक प्रतियोगितामा जनस्तरबाट धेरै मात्रामा आर्थिक स्रोत संकलन हुँदै आएको र त्यस्कै बलमा प्रतियोगितालाई निरन्तर दिन सफल भएको उनी बताउँछन्।

‘स्थानीयकै सहयोगमा प्रतियोगितालाई अझै दीगो बनाउँदै लैजाने छौँ,’ दङ्गालले भने। प्रतियोगिता स्थानीय दरबारडाँडा खेल मैदानमा हुने छ। प्रतियोगिताको पहिलो दिन शनिबार चार टोलीको खेल्ने तालिका रहेको छ।

प्रकाशित: २६ आश्विन २०८० १२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App